दलित विकास समितिका उपाध्यक्षले यौन प्रस्ताव गरेको जसपा नेतृको आरोप, प्रहरीमा मुद्दा दर्ता


२१ बैशाख २०७८, मंगलवार
ge

लहान, २१ बैसाख । जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश–२ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेकी छन् । बैठाले फेसबुक म्यासेन्जरमार्फत आफूसँग यौन सम्पर्कको प्रस्ताव राखेको भन्दै उनले लहान प्रहरीमा मुद्दा दर्ता गरेकी हुन् ।

यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा आफूलाई बैठाले गालीगलौज गरेको उनको आरोप छ । सिरहाको लहान नगरपालिका– १ निवासी महिला नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेकी हुन् ।
सर्लाहीको विष्णु गाउँपालिका–४ निवासी उपाध्यक्ष बैठाले गत चैत्र ९ गते राति ११ बजेको समयमा सामाजिक सञ्जाल म्यासेन्जरमार्फत आफूलाई अश्लिल गालीगलौज गरेकाले आफ्नो दाम्पत्य जीवन धरापमा परेको नेतृ दासले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उपाध्यक्ष बैठाले मुलुकी अपराध फौज्दारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफा ११८ बमोजिम अभद्र व्यवहार गरेकाले यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
जाहेरी परेपछि घटनाको विषयमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७