उच्चस्तरीय कार्यदल र बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच छलफल


४ श्रावण २०७८, सोमबार
BPKIHS Karyadal

सुनसरी, ४ साउन । सुनरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ ।

प्रतिष्ठानमा आन्दोलनरत संघर्ष समिति र कार्यदलबीच आज (सोमबार) वार्ता भएको हो । वार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वको सरकारी वार्ता टोली धरानस्थित प्रतिष्ठानको कार्यालय पुगेको छ ।

वार्ता टोलीमा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. अर्याल, हरि लम्साल, डा. गुणराज लोहनीलगायतका ९ जना रहेका छन् भने आन्दोलनरत पक्षको तर्फबाट डा. एसपी रिमाल, डा. विष्णु पोखरेल, डा. सन्दिप साहलगायत १५ जना प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको शुद्धिकरणका लागि संघर्ष समितिले लामो समयदेखि आन्दोलन गरिरहेको थियो । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले बिहीबार कार्यदल गठन गरेका हुन् । कार्यदलमा ८ सदस्य छन् । ‘कार्यदललाई हाम्रो माग र समस्याबारे प्रत्यक्ष रुपमा सुनाइरहेका छौं । उहाँहरुले हाम्रो समस्या सुन्दै यसबारे गम्भीर अध्ययन गर्ने बताउनु भएको छ,’ डा. नेपालीले भने ।

बीपी प्रतिष्ठानमा शुद्धीकरणको माग गर्दै ३५ दिनदेखि यहाँका चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरुले आन्दोलन गरिरहेका छन् । प्रतिष्ठानमा आर्थिक अनियमितता बढेकाले यसको छानबिन गर्नुपर्ने र प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीको बहिर्गमनको माग उनीहरुले राखेका छन् ।

असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता भंग भएपछि पदाधिकारी र आन्दोलनकारीबीच संवाद हुन सकेको थिएन । त्यसपछि आन्दोलनरत संयुक्त संघर्ष समितिले असार १६ गते चारैजना पदाधिकारीको राजीनामाको माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

उनीहरुले पदाधिकारीहरुसँग वार्ता नगर्ने र प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीद्वारा गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिंदै आएका थिए । देउवा प्रधानमन्त्री भएलगत्तै आन्दोलनकारीले ४८ घण्टाभित्र माग पूरा नगरे सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले कार्यदल गठन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७