आर्यघाट पुग्दासम्म पद नछोड्ने नेताहरुको कार्यशैलीले जनतामा निरासा : प्रकाशमान सिंह


१३ आश्विन २०७८, बुधबार
Prakashman Singh 12khari1632557518

काठमाडौं, १३ असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यकता रहेको बताएका छन् ।

बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनमा जोड दिए । अरु क्षेत्रमा जस्तै निश्चित समयपछि रिटायरमेन्ट राजनीतिमा पनि हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछोड्ने नेताहरुको कार्यशैलीले जनतामा निराशा छाएको बताए ।

बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरुले कब्जा जमाएकाले परिवर्तनको आभाष हुन नसकेको भन्दै उनले कांग्रेसमा अब पार्टी सभापति, वरिष्ठ नेतालगायतलाई रिटायरमेन्ट दिएर अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा राखे ।

‘नेपाली काँग्रेस सधै जनताका लागि काम गर्दै आइरहेको छ । तर वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ,’ नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिए ।

पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै उनले आफूहरुले त्यसो हुन नदिने बताए । पदमा जानको लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृतिले पार्टीलाई अप्ठ्यारो पारेको उनको गुनासो छ । लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७