बेलायतमा एकै दिन झण्डै ४५ हजार संक्रमित


३० आश्विन २०७८, शनिबार
covid 19 london cases transmission

बेलायत, ३० असोज । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको संख्या ४० हजार भन्दा माथि रहँदै आएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार ९२८ नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो साताको तुलनामा सङ्क्रमित संख्या ११.५ प्रतिशतले वृद्धि भएको हो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल संख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८१८ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ३७९ पुगेको छ । मृतक संख्या पनि ५.१ प्रतिशतले वृद्धि भएको छ ।

गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा ८२७ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको संख्या ७ हजार ८६ रहेको छ । यस्तै ७८३ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात् ८५.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात् ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । बेलायतमा हाल तेस्रो अर्थात् बुष्टर डोज पनि शुरु गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७