राजनीतिक दलमा आएको विचलनका कारण जनताले दुःख पाए : महन्थ ठाकुर


२४ मंसिर २०७८, शुक्रबार
Mahantha Thakur

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसबाट देशलाई ठूलो आशा रहेको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताएका हुन् ।

राजनीतिक दलमा भएको विचलनका कारण जनताले दुःख पाइरहेको भन्दै उनले राजनीतिक दलहरुले आफूलाई सुधार्दै लग्नुपर्नेमा जोड दिए । अध्यक्ष ठाकुरले न्यायपालिका र व्यवस्थापिकामा समस्या देखिएको भन्दै त्यसको छिटोभन्दा छिटो समाधान भए मात्रै जनतालाई सहज हुने बताए ।

वर्तमान संविधानसँग आफूहरुको असन्तुष्टि रहेको भन्दै अध्यक्ष ठाकुरले संविधानप्रति असन्तुष्टि प्रकट गर्दा भएका आन्दोलनकारी आफ्ना नेता तथा कार्यकर्तालाई जेलबाट निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे । अध्यक्ष ठाकुरले आफ्ना केही माग सम्बोधन गरेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

आफूहरुले धेरै समय कुरेको र धेरै समय झुलाइएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले छिटोभन्दा छिटो समस्या समाधान गर्न आग्रह गरे । अन्यथा ज्वालामुखीको रुपमा आफ्नो पार्टी सडकमा आउने उनको चेतावनी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७