गोरखा नगरको कार्यपालिका बैठक ६ वडाध्यक्षद्वारा बहिष्कार


२० माघ २०७८, बिहीबार
thumb 1

गोरखा । गोरखा नगरपालिकाको कार्यपालिका बैठक ६ वडाध्यक्षले बहिष्कार गरेका छन् । नगर प्रमुख राजनराज पन्तले चुनावलक्षित टुक्रे योजनामा बजेट बाँडफाँट गरेको आरोप लगाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका वडाध्यक्ष बिहीबारको बैठकबाट बाहिरिएका हुन् ।

शुक्रबार गोरखा नगरले नवौं नगरसभाको आयोजना गरेको छ । नगरसभामा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल चल्दै गर्दा चालु योजनाको रकमान्तर र नयाँ योजना छनौटमा ६ जना वडाध्यक्षहरुले असन्तुष्टि जनाए । ‘वडामा बजेट विनियोजन भएको छ, वडाध्यक्षलाई जानकारी छैन,’ गोरखा नगरपालिका-११ का वडाध्यक्ष रामबहादुर खड्काले भने, ‘आफ्ना पार्टीका वडा सभापतिहरुसँग छलफल गरेर योजना छनौट गर्ने अनि कार्यपालिका बैठकबाट अनुमोदन गर्न खोजियो, यसलाई स्वीर्कादैनौं ।’

कोभिडका कारण काम अघि नबढेका तथा काम हुन नसकेका चालु योजनाको बजेट रकमान्तर गरी एक करोड ४६ लाख रुपैयाँ विभिन्न नयाँ योजनामा विनियोजनाको तयारी गरेको छ । उक्त रकम धेरैजसो टुक्रे योजनामा विनियोजन भएको खड्काले बताए । ‘अपुरा र अधुरा योजनामा बजेट छुट्टिएन, आवश्यकताभन्दा बाहिरका योजना पनि छन्,’ उनले भने, ‘५० हजार, ७५ हजार, एक लाखका योजना छन्, राजनीतिक पूर्वाग्रह राखेर चुनावी माहोलका लागि आफ्नै पार्टीका कार्यकतासँग सल्लाह गरेर बजेट छर्न खोजियो ।’ मेयरले आफ्नै तजविजमा रकम छुट्टाएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ ।

नगरकै गौरव हुने खालका योजनामा बजेट नहालेर टुक्रे योजनालाई प्राथमिकता दिएको गोरखा नगरपालिका-१३ का वडाध्यक्ष हरि खनालले बताए । ‘योजनामा बजेट विनियोजन भएको कुरा बैठकमा पुगेपछि मात्र थाहा पायौं,’ उनले भने,‘पहिलो नगरसभामा स्वीकृत भएका तर हालसम्म सम्बोधन नभएका योजनामा बजेट विनियोजन गर्नुपर्ने हाम्रो माग हो ।’

अधुरा योजनामा पनि रकम विनियोजन गर्न असन्तुष्ट वडाध्यक्षहरुले माग राखे । आफ्ना मागहरु लिखितरुपमा बुझाउने र सम्बोधन नभए शुक्रबारको नगरसभा चल्न नदिनेमा आफूहरु एकमत रहेको खनालले बताए । १४ वडा रहेको गोरखा नगरपालिकामा ३ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष माओवादी केन्द्र र अन्यमा नेपाली कांग्रेस निकटका वडाध्यक्षहरु छन् । कार्यपालिका बैठकको वहिष्कारको विषयमा जानकारी लिन खोज्दा नगरप्रमुख राजनराज पन्त र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७