घरदेखि खेतबारीसम्म मतदाता रिझाउँदै उम्मेदवार


२५ बैशाख २०७९, आईतवार
Chunab taplejung

बागलुङ ।  गठबन्धबाट बागलुङ नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ बिहिबार बागलुङ नगरपालिका-९ तित्याङको एक घरमा भइरहेको चौरासी पूजामा पुगे । तित्याङ्कै घरदैलोमा व्यस्त श्रेष्ठ सोही दिन धुवाँखोला पुग्दा ब्रतबन्धमा समेत सहभागी भएर आफूलाई भोट मागे ।

उनले चौरासी पूजा र ब्रतबन्धनमा निम्तो मानेको स्थानमा समेत भोट मागेको बताए । ‘निर्वाचनको प्रचार प्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिइरहेको छ, पूजाआज भइरहेको स्थान र काम गर्दै गरेको खेतबारीमै पुगेर पनि भोट माग्दै आइएको छ’, उनले भने । मतदाता जम्मा भएको स्थानमा मत माग्नु स्वाभाविक रहेको श्रेष्ठको भनाइ छ ।

यस्तै बागलुङ नगरको नेकपा (एमाले) बाट नगर प्रमुखका उम्मेदवार जनकराज पौडेललेले बागलुङ नगरपालिका-५ पञ्चासेस्थित बारीको डिलमै चुनावी भेटघाट कार्यक्रम जनाउँदै आफ्ना भनाई राख्छन् । उनको मन्तव्य बारीमा मकै गोड्दै गरेका किसानले सुन्दै काम गरेको देख्न सकिन्छ । उनीसँग बारीमा मकै गोड्दै उम्मेदवारको भाषण सुनेका स्थानीयले बसाइँसराइका कारण गाउँ रित्तिन थालेको गुनासो गरे ।

‘म निर्वाचत भए यस्तो समस्या सुल्झाउन गाउँ फर्क अभियान चलाउनेछु’, पौडेलले स्थानीयलाई आश्वस्त पारे । ठूलो आमसभा गरेर जनतालाई दिनभर दुःख दिनभन्दा उनीहरुकै घरमा पुग्ने, उनीहरुले काम गर्ने स्थान खेतबारीमै पुग्ने गरेको उनले बताए । खेतबारीदेखि पूजाआजसम्म उम्मेदवार मत माग्न पुगेपछि मतदाताले आफ्ना कुरा राख्न समेत पाएका छन् ।

यस्तै उक्त नगरको ६ नं वडास्थित पञ्चकोटमा घरदैलोका क्रममा घरमा नभेटिएका मतदातालाई बारीमै गएर मत माग्दै गरेको स्थानीय नेतृ कालिका सापकोटाले बताइन् । उनले भनिन्, ‘उम्मेदवारले धेरैभन्दा धेरै नागरिकसँग साक्षात्कार गर्न विवाह, चौरासी पूजा, ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रममा तथा खेतबारीमै गएर किसानसँग भेट्ने गरेका छन् ।’ 

यहाँका उम्मेदवारले पहिलेका निर्वाचनझैं ठूला आमसभा गरी मत माग्ने शैली परिवर्तन गरी भेटघाट र घरदैलोलाई प्राथमिकता दिन थालेका छन् । ‘अहिले गाउँमा कामको चटारो छ, जनतालाई काम गरिरहेकै अवस्थामा भेटेर सुखदुःख बुझ्दै, मत माग्दै हिँडेका छौं’, राप्रपाबाट बागलुङ नगर उपप्रमुखका उम्मेदवार सञ्जय खड्काले भनिन् । उनले चुनावमा नागरिकलाई भन्दा उम्मेदवारलाई बढी दौडाउने अभियानअन्तर्गत घरदैलोमा हिंडेको बताइन् ।

पछिल्लो समय चुनाव लक्षित कार्यक्रममा टोलटोलमा पुग्न थालेको छ । गत निर्वाचनमा आमसभा केन्द्रित राजनीतिक दल र उम्मेदवार अहिले  स्थानीय भेटघाट र घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले बताए । चार दिनदेखि लगातार मकै गोड्ने काममा खटिएका बागलुङ नपा-८ सिगानाका कृषक नारायण थापाले नगरका अधिकांश उम्मेदवार बारीमै भेट्न आएको बताए । ‘पहिला पहिलाका चुनावमा हामी भोट माग्न आउदैछौं, आमसभामा आउनुहोस्, भन्ने गर्दर्थे’, थापाले भने, ‘अहिले भोट माग्ने शैली परिवर्तन भएको रहेछ, अहिले मतदाता जहाँ छन् त्यही भेट्ने आउने गरेको पाइयो ।’

                बागलुङमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल बढ्दै गएसँगै उम्मेदवार बिहानदेखि बेलुकासम्म मतदाताको घरदैलोमै हुने गर्छन् । अहिले बागलुङको दुर्गमदेखि सुगमसम्म चुनावी गतिविधि बढेको छ । नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्नका लागि मतदाता रिझाउन व्यस्त देखिन्छन् । उम्मेदवार मतदाताको घरआँगन र खेतबारीमै पुगेर भोट मागिरहेका भेटिन्छन् ।

उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न मतदाताले आयोजना गरेको पूजा, विवाह, ब्रतबन्ध समारोहमै पुग्नेसमेत गरेका छन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले अधिकांश मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूलाई भेट्न खेतबारीमै पुग्ने गरेको बडीगाड गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार राजन पाइजाले बताए ।

निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले संयुक्तरुपमा आमसभा र घरदैलो गर्दै हिँडेका छन् भने बागलुङ नगरमा एमाले र राप्रपाले संयुक्तरुपमा घरदैलो गर्दै आएको छ । अन्य नौ पालिकामा एमाले आफ्नो ढङ्गले चुनावी अभियानमा लागेको र अहिले आमसभा, घरदैलो अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७