भोजपुरेहरु अतिवादको पक्षमा छैनन्, त्यसैले म समृद्धि पक्षधरको साझा उम्मेदवार हुँ : हरि राई

‘आगो बाल्ने कुरा होइन समतामुलक समाज सहितको समृद्धितिर जाऔं’


२६ कार्तिक २०७९, शनिबार
Hari Bahadur Rai scaled

२०३९ सालदेखि राजनीतिमा संग्लन नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राई प्रदेशसभा सदस्यका लागि भोजपुर निर्वाचन क्षेत्र नं ‘१’ बाट उम्मेदवार छन् । २०४६ सालको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा राईले २०४७ मा नेकपा (माले)को संगठित सदस्यता लिए ।

२०४७ मा नेकपा (एमाले) गाउँ पार्टीको उपसचिव भए । २०४९ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । २०५४ सालमा जिल्ला विकास समिति भोजपुरको सदस्यमा निर्वाचित भए । जिल्ला विकास समिति सदस्यको रूपमा २०५४ देखि २०५९ सम्म काम गरे । २०५४ देखि २०५८ सम्म पार्टी जिल्ला कमिटीको उपसचिव भए । यसैगरी २०६५ देखि २०६८ सम्म नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवको रूपमा जिम्मेवारी लिए ।

जिल्लाको पार्टी कामसँगै तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालमा पनि सक्रिय भए । २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । २०५९ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालकोे चौथो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६१ मंसिरमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको पाँचौं केन्द्रीय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य र पूर्वाञ्चल प्रमुखमा निर्वाचित भए । २०६६ माघमा लहानमा भएको युवा संघको छैटौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएर पूर्वाञ्चल प्रमुखको जिम्मेवारी सम्हाले ।

२०६९ फागुनमा बुटवलमा भएको युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापतिमा निर्वाचित भए । २०७१ मा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी सदस्य भए । २०७८ मा सम्पन्न नेकपा (एमाले) को आठौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । हाल केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज छन् ।

उम्मेदवारी र प्रतिनिधित्वको हिसाबले नेकपा (एमाले)को उम्मेदवार भएपनि आफू भोजपुरको विकास र समृद्धिको पक्षधर भोजपुरेहरूको साझा उम्मेदवार भएको उनको दाबी छ । भोजपुरको विकासको लागि आफ्नो स्पष्ट मार्गचित्र रहेको उनको भनाई छ । भन्छन्, ‘यो मैले कुनै चुनावी नाराको रुपमा भनिरहेको छैन । यसको निम्ती स्पष्ट योजना, कार्यान्वयनको मार्गचित्र बनाएको छु ।’ राईसँग गरिएको कुराकानी :

आफ्नो एजेन्डा लिएर जनताकोविचमा गइरहनु भएको छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
– हामी निरन्तर जनताको घरदैलोमा गइरहेका छौं । आदरणीय भोजपुरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूले देखाउनु भएको सद्भाव, सहयोग र सुभेच्छाले हामी असाध्यै उत्साहित छौं । अभियानको क्रममा धेरै आदरणीय भोजपुरहरूले भन्नुभएको छ, ‘सबै खालका अतिवाद, अराजकता विरुद्ध दृढतापूर्वक उभिएर समृद्धि र विकासको नेतृत्व गर्नुहोस् ।’ हो, मेरो संकल्प र प्रतिबद्धता पनि यही हो । सबै खालका अतिवादहरू विरुद्ध जुरुक्कै उभिएर समतामुलक समाज सहितको समृद्ध भोजपुर मेरो संकल्प हो । अब कति युद्धको कुरा गर्नु, कति क्रान्तिको कुरा गर्नु, कति आन्दोलनको कुरा गर्नु ? अब विकासको कुरा गरौं ।

भोजपुरले तपाईहरुलाई यसअघि पनि पटक–पटक जिताएर पठाएको हो । यसपाली चहिँ के भनेर मत मागिरहनु भएको छ ?
– यहाँहरुलाई थाहा छ, अघिल्लो निर्वाचन संविधानसभाद्धारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा थियो । त्यसको पहिलो दायित्व र जिम्मेवारी कानुन निर्माण थियो । यसविचमा संविधानमै तोकिए बमोजिम मौलिक हकको कार्यान्वयनका लागि आवश्यक काननुहरू निर्माण भएका छन् । संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनका निम्ती आबश्यक कानुनहरु निर्माण भएका छन् । स्थानीय तहलाई सबल, सक्षम एवं क्रियाशील बनाउन वित्तीय, प्रशासनिक र कानुनी प्रबन्ध गरिएका छन् । संघ, प्रदेश र स्थानीय तहको आबश्यक सबै कानुन निर्माण भएका छन् । खासमा समृद्धिको बर्षहरु अब सुरु हुनेछन् । विकास र समृद्धिको युगको नेतृत्व गछौं । भोजपुर बदल्छौं भनिरहेका छौं । समृद्धि पक्षधर भोजपुरेहरुको साझा उम्मेदवारको रुपमा मैले जनतालाई भोट मागिरहेको छु ।

फेरि भन्छु, ‘सबै खालका अतिवादहरू विरुद्ध जुरुक्कै उभिएर समतामुलक समाज सहितको समृद्ध भोजपुर मेरो संकल्प हो ।’ हेर्नुहोस् त अरु देशका मान्छेहरु कहाँ पुगीसकेँ ? के के बनाइरहेका छन् ? हामी चै खाली काटमारको कुरा गरीरहेका छौं । अशान्ति र मारमुर्गीको कुरा कति गर्ने ? त्यसैले मैले भनेको छु, ‘अतिवाद होइन, सहिष्णुता र सद्भाव अराजकता होइन, समृद्धि र विकास ।’ मैले यसो भनिरहँदा फेरि अर्को अर्थ पनि लगाइएला । हाम्रो संबिधानले समतामुलक समाज निर्माणको कुरा प्रष्ट भनेको छ ।

हाम्रो संबिधानको प्रस्तावनामा लेखिएको छ, ‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ।’ हो, जिम्मेवार दल र नेताले यसको स्प्रीटमा काम गर्ने हो । यहाँ बढो प्रष्ट त लेखेको छ त । आगो सल्काउने, काटामारको कुरा हामीलाई कहाँ लैजान्छ त ? यो बिषयमा भोजपुरे जनताले गम्भिरताको साथ हेनुपर्छ ।

मुख्यमन्त्री राजेन्द्र राई गठबन्धनको उम्मेदवार हुनुहुन्छ, तपाई साझा उम्मेदवार कसरी ?
– मैले भनेको म विकास र समृद्धिका पक्षधर भोजपुरेहरुको चै साझा उम्मेदवार हुँ । भोजपुरको विकास र समृद्धिका पक्षधर सबै दलका मतदाताहरु मेरो पक्षमा हुनुहुन्छ । किनभने हाम्रो जस्तो प्रणाली भएको मुलुकमा साना दलहरुको साना दोकानबाट केही हुँदैन । हामी प्रष्ट हुनुपर्छ, यहाँ मुख्य दल एमाले र कांग्रेस हो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आफैले भन्नुभएको छ, हामी चौथो दल । उहाँहरुले जम्मै १९ ठाउँमा उम्मेदवारी दिनु भएको छ । उहाँहरुको सपना नै चौथो दलको छ । हुने के हो ? विकास एकजनाले गरेर हुने होइन । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको समन्वय हुनुपर्छ । अब हाम्रो मुख्यमन्त्रीज्यूको न त स्थानीय तहमा कोही जनप्रतिनिधि छ, न कोही प्रदेशमा हुनेछन्, न संघमा नै अनि कसरी हुन्छ विकास ? त्यही भएर विकास र समृद्धिको पक्षधरको म साझा उम्मेदवार हुँ ।

Hari Rai 3 scaled

तपाईको प्रतिस्पर्धी मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्रीको निरन्तरताको लागि मत मागिरहनु भएको छ नी ?
हेर्नुहोस् मेरो प्रतिस्पर्धी मुख्यमन्त्री राजेन्द्र राई हुनुहुन्छ । व्यक्तिगत रुपमा मैले उहाँलाई केही भन्नुछैन । मेरो सम्मान नै छ । हिजो उहाँलाई जुरुक्कै बोकेर हिडेको हामीले नै हो । फेरि पनि भन्छु, व्यक्तिगत रुपमा मेरो सम्मान छ । तर उहाँको पार्टी जुन छ, नेकपा (एकीकृत समाजवादी) । यो पार्टीको जन्म नै देश बनाउने गरी भएकै होइन । केवल नेकपा (एमाले)लाई सिध्याउने खराब सपनाको साथ जन्म भएको पार्टी हो । तर त्यो सपना पुरा भएन ।

हेर्नुहोस् त स्थानीय तहको नजिता । स्थानीय तहमा हामी एमालेलाई धुलो पार्छौं भन्नु भएको थियो नी भएन । यो निर्वाचनको अभियान चलिरहेको बेला समेत उहाँको पार्टीको एक दर्जन अध्यक्षहरु एमालेमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय दल नै नबन्ने निश्चित भएको छ । प्रदेश एकको मुख्यमन्त्रीको कुरा गरीरहनु भएको छ । प्रदेशसभा सदस्यमा उहाँको पार्टीले आशा गरेको ३ सिट हो । अब भन्नुहोस् त ३ सिट भएको दलले मुख्यमन्त्री कसरी प्राप्त गर्छ ? गठबन्धनको ठुलो दल नेपाली कांग्रेसका एक से एक केन्द्रीय नेताहरु प्रदेशमा उठ्नु भएको छ । ल मान्नुहोस् उहाँहरुले जतिमा उम्मेदवारी दिनुभयो, सबैमा जित्नुभयो । अनि जम्मै ११ ठाउँमा छ उम्मेवारी नै । अनि कसरी हुन्छ मुख्यमन्त्री ?

के छ तपाईको भोजपुर बदल्ने तपाईको ऐजेन्डा ?
– मैले आफ्नो घोषणापत्रमा १७ संकल्प प्रस्तुत गरेको छु । यस बाहेक विकास निर्माणका योजनाबद्ध श्रृखलाहरु पनि उल्लेख गरेको छु । परिवर्तनको आन्दोलनहरूमा हामी भोजपुर र भोजपुरेहरूको इतिहास असाध्यै गौरवमय छ । यही गौरवमय इतिहासको विरासतमा उभिएर समृद्ध भोजपुर निर्माण अबको हाम्रो अभिष्ट हो ।

अबको हाम्रो उज्यालो र बाटो पनि यही हो । हाम्रो गौरवमय इतिहास भन्छ, ‘परिवर्तनको लागि क्रान्तिको आगो र चेतनाको उज्यालो भोजपुरबाट सल्किएको हो ।’ अब त्यही इतिहासलाई साक्षी राखेर दुनियाँले देख्ने, सुन्ने र थाहा पाउने गरी उदाहरणीय समृद्धिको अभियान भोजपुरबाट सुरु गर्नेछु । यसको लागि मैले भौतिक पूर्वाधार, शिक्षा, कृषि, उत्पादन, स्वास्थ्य सबै क्षेत्रको मार्गचित्र बनाएको छु ।

तपाईको मार्गचित्र त राम्रो रहेछ, तर जितेर गएपछि फर्किन्दैनन् भन्ने जनताको गुनासो छ नी ?
तपाईलाई थाहा छ, यो मेरो पहिलो उम्मेदवारी हो । तर एक जना पार्टीको कार्यकर्ता र नेता हुनुको नाताले म जहिल्यै भोजपुरे जनताको विचमा छु । म पनि सुन्छु, नेता आएनन् । फोन उठाएनन् । तर सबै भोजपुरे जनतालाई सोध्नुहोस्, जसलाई समस्या पर्दा फोन गर्नुहुन्छ, भन्नुहुन्छ ।

मैले सबैको फोन उठाएको छु । सकेसम्म उहाँहरुको समस्या सम्बोधनको लागि आफै मैदानमा जाने गरेको छु । यो बिषयमा पनि मेरा केही संकल्प छन् । शासक होइन होइन जनताका सेवक रुपमा काम गर्नेछु, विकास र समृद्धिको अभियान्ता भएर जनतासँग सहयात्रा गर्नेछु, स्थानीय सरकार र संघीय सरकारबिच पुलको काम गर्नेछु, समृद्धि र बिकासको सन्र्दभमा स्थानीय सरकारका जनप्रतिनिधिसँग गहिरो सहकार्य र समन्वय गर्नेछु ।

मैले भनेको छु, सबै जनताको हरेक फोन उठाउनेछुँ । व्यस्त भएर नउठे ‘कल ब्याक’ गर्नेछु । हरेक ६ महिनामा तपाईँहरूसँग संवाद गर्न तपाईँको वडासम्म आइपुग्नेछुँ । म जनताको हरेक दुःख र संकटमा साथ हुनेछु । तपाईको दुःखमा साथ दिने एउटा साथी आजबाट थपिएको सम्झिनुहोस् भनेको छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७