सुनसरी–४ मा एमालेका कुसियैत भन्दा ३३७ मतले कांग्रेसका कार्कीको अग्रता


१४ मंसिर २०७९, बुधबार
Gyanendra Karki Kusiyat1669377682

सुनसरी । सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच ३३७ मतान्तर रहेको छ ।

निर्वाचन आयोगका अनुसार, बुधबार मध्याह्नसम्मको गणनामा कांग्रेसका कार्कीले २६ हजार ८१८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका कुसियैतले २६ हजार ४८१ मत पाएका छन् । यो क्षेत्रमा शुरूदेखि नै कार्की र कुसियैतबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कहिले कार्कीले त कहिले कुसियैतले अग्रता लिइरहेका छन् । अब करीब १५ हजार मत गणना गर्न बाँकी छ ।

देशभर मतगणना भएका १६२ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। जसमा कांग्रेसले ५४, एमालेले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सात सीट जितेका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले एक–एक तथा स्वतन्त्र उम्मेदवार पाँच जना निर्वाचित भएका छन् ।

अब दोलखा, बाजुरा र स्याङ्जा–२ मात्र विवाद छ । मंसिर ४ गते मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिकामा झडप हुँदा एक युवकको मृत्यु भएपछि चुनावी प्रक्रिया अवरुद्ध छ । त्यहाँ कहिले निर्वाचन हुने भन्ने निर्णय हुन सकेको छैन । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।

स्याङ्जा–२ मा पनि विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै विवाद उत्पन्न भएको छ । मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको छैन । यो क्षेत्रमा एमाले उम्मेदवार पद्मा अर्याल र कांग्रेसका उम्मेदवार धनराज गुरुङ प्रतिस्पर्धामा छन् ।
त्यस्तै, मतगणना विवाद भएको अर्को क्षेत्र हो, दोलखा । एउटै निर्वाचन क्षेत्र रहेको दोलखाका १० वटा मतदान केन्द्रमा निर्वाचन आयोगले मंसीर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । यो क्षेत्रमा एमालेका बालकृष्ण शिवाकोटी र माओवादीका गंगा कार्की प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७