विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड


२६ भाद्र २०७५, मंगलवार
sanetory pad

कञ्चनपुर, २६ भदौ । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।

sanetory pad
फाइल फोटो

रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुने जस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो । रजस्वला हुँदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायतका कार्य यहाँका समाजमा अझै विद्यमान छ । समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चलन गरेको छ ।

‘चेतनाको अभावमा किशोरीहरुले पूराना फोहर कपडा प्रयोग गर्दा संक्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौं’, नगर प्रमुख हमालले भने, ‘यसका लागि नगरपालिकाले एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।’
यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ ।

वडा नं– ८ रैकवार स्वास्थ्यचौकी र वडा न ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो । प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुबै स्वास्थ्य चौकीलाई दुई लाख अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताए । नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा रु तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ ।

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहन स्वरुप नगरपालिकाले तीन सयका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रानिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि एक लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

गर्भवती तथा बालबालिका पोषण प्रवर्धन तालीमका लागि एक लाख र किशोर किशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालीम आयोजना गर्न एक लाख ५० हजार व्यवस्था गरिएको छ । ‘नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्यबारे जागरुक बनाई स्वस्थ्य समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाइ लागू गरेका छौं’, नगर प्रमुख हमालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७