अन्तर्राष्ट्रिय विमानस्थलमा बोतल र बिलौना


२५ पुष २०७५, बुधबार
airport 1

काठमाडौं, २५ पुस । कस्तो दिक्कलाग्दो भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा– ‘मेरो रगत–पसिना खर्च गरेर ल्याएको, तिर्छु भन्दा पनि तिर्न नदिई लुट्यो–लुट्यो’ भन्दै एउटा नेपाली युवक छाती पिटी–पिटी डाँको छाड्छ ।

airport 1

विदेशी आउँछन् । भन्सारका मानिसले उसको हाते झोलाबाट सिगरेटको प्याकेट थुतेर ‘नो परमिसन, गो–गो’ भन्दै निकालिदिन्छन् । अनि, विदेशीले एयरपोर्टमै नेपाललाई सरापेर शुरु गर्छन्, आफ्नो पर्यटकीय यात्रा । केही दिनयता काठमाडौं विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा देखिन थालेका दृष्य हुन् यी ।

अर्थात्, विदेशबाट अहिले दुई बोतल रक्सी पनि ल्याउन दिइएको छैन । विदेशी यात्रीको सामान जबरजस्ती खोसिएका छन् । ‘यो–यो सामान ल्याउन पाइने, यो–यो नपाइने’ भनेर सबले थाहा पाउने गरी सूचना दिइएको छैन । बिना सूचना विदेशीले कसरी थाहा पाउन्, तर यता अत्याचारै हुन्छ । भन्सारले आफ्नो नीतिअनुसार सामान जफत गर्न पाउँछ ।

तर, जफत गरिएको सामानको रिसिप्ट दिनुपर्छ । भन्सारका कर्मचारीहरु विदेशीले रिसिप्ट माग्दा ‘नो–नो, गो–गो’ भन्दै हप्की दप्कीका साथ बाहिर निकाल्न तम्सिन्छन् । ‘ड्युटी पे गर्छौं, हामीले रगत र पसिना बगाएर, घर–परिवारसँग खुशीयाली मनाएर पिउनलाई पो कोशेली ल्याएको त’, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवा भन्छन्, ‘भन्सारका कर्मचारीले ‘पाइँदैन–पाइँदैन’ भन्दै रुखो व्यवहारसाथ उनीहरुलाई झन् उत्तेजित बनाइरहेको देखिन्छ ।’

केही दिन अघिसम्म चिनियाँ यात्रुलाई आफ्नै स्वदेशी उत्पादन सिगरेट ल्याउन दिइएको थियो । अहिले जफत हुन थालेको छ । प्रश्न के हो भने, यसले देशलाई के हित गर्छ ? राज्यले कस्तो राजश्व व्यवस्था गर्न खोजेको हो ? यसले भोलि पर्यटन आगमनमा असर पर्ने पक्का छ । नेपाल भ्रमण वर्ष २०२० लाई पनि गम्भीर प्रभाव पार्नेछ । ‘जनतामुखी सरकार’ भन्ने नारा छ, विदेशमा दुई–तीन वर्ष बसेर फर्किएका नेपालीको रक्सी खोसेर कस्तो ‘सरकार’ बनाउन खोजिएको हो ? एयरपोर्टभित्र विभिन्न स्टेक होल्डर छन् ।

स्क्रिनिङ, चेक र बडी सर्च गर्ने अधिकार पाएकाहरुले झोलाका झोला रक्सी पनि पास गरिरहेका छन् । जनतालाई सेवा र सुविधा दिइनुपर्नेमा, फाट्टफुट्ट लुकीचोरी पास पनि गरिंदैछ । दैनिक डेढ–दुई सय बोतल रक्सी, सिगरेट जफत हुने गरेको छ ।

पीडित यात्रु भन्छन्, ‘वाइडबडीमा साढे चार अर्ब घुस खाँदा कहीं, केही भएन । हामीले एउटा, दुईटा रक्सी ल्याउँदा यत्रो मुस्किल ? ट्रकका ट्रक सुन पास भए, कोही बोलेनन् । एक बोतल रक्सी खोसेर बहादुरी देखाउने ?’ यस्तो भद्रगोल भएपछि कुन विदेशी फेरि नेपाल आउने र आफ्ना साथीहरुलाई नेपाल घुम्न पठाउने ?

चालु आर्थिक वर्षको बजेट भाषणमा एक बोतलसम्म रक्सी ल्याउन दिइने भनिएको थियो । नेपालमा १२–१५ वटा विदेशी ब्राण्डका रक्सी निकासी गर्ने लाइसेन्स मारवाडी समुदायका व्यापारीले पाएका छन् । ड्युटी फ्रि बन्द गर्ने शर्तमा उनीहरुले त्यस्तो लाइसेन्स पाएका हुन् । सँगै उनीहरुको शर्त थियो, विदेशीलाई रक्सी ल्याउनै नदिने । त्यस्ता व्यापारीले अर्थका हाकिमदेखि एयरपोर्ट भन्सारसम्म थैली भेट गर्छन् । त्यस्तो नीति आउनुमा थैलीभेटको प्रभाव छ ।

एयरपोर्टमा जफत भएपछि ती मानिसले बजारमा किन्ने भए । अन्तःशुल्क, राजश्व लिएको छ । बीचमा निर्णय भएर पनि कार्यान्वयन छैन । अर्थ मन्त्रालयमा नयाँ राजश्व सचिव लालशंकर घिमिरेले राजश्व संकलनमा देखिएको निरासाजनक स्थितिबारे कडाइका साथ कुरा राखेपछि एयरपोर्टमा यस्तो जात्रा देखाउन थालिएको हो । यदि ड्युटी फ्रि यतै भएको भए नेपालीले बैंकक, दोहा, छङतु, क्वालालम्पुर वा अर्को कुनै देशको ट्रान्जिटमा तिर्ने डलर यतै आउँथ्यो । यसबाट विदेशी मुद्राको कारोबार थोरै परिमाणमा भए पनि नेपालमै हुन्थ्यो ।

एउटा नेपालीले विदेशी ड्युटी फ्रिमा खर्चिने आफ्नो आर्जन स्वदेशमै खर्च गर्न पाउँथ्यो । नेपाल छिर्ने कोही पनि विदेशी १–२ बोतल रक्सी बेच्न आउँदैनन् । उनीहरुले साथमा ल्याउने रक्सी यहींको कोही नेपालीलाई उपहार दिन वा घुम्दा आफ्नो ब्राण्ड सेवन गर्नलाई हो ।

विदेशमा काम गरेर फर्किएका नेपालीले पनि बेच्नकै लागि त्यसरी रक्सी ल्याउने होइनन् । हो, पहिला–पहिला नेपाली सेनाका हाकिमदेखि जवानसम्मले युएनको चार्टर फ्लाइटबाट आउँदा त्यसरी कार्टुनका कार्टुन रक्सी ल्याउँथे । यता बेच्थे । किन्ने ठाउँमा पनि पसलेले ‘सेनाले ल्याएको कि अर्को ?’ भनेर सोध्थे । अहिले त त्यस्तो पनि हैन । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७