लाइसेन्स बितरणमा घुस लेनदेनः सेटिङमा कास्की ट्राफिक पनि संलग्न ?


२३ जेष्ठ २०७६, बिहीबार
keshar malla

पोखरा, २३ जेठ । सवारी अनुमतिपत्र बितरणमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको छ । यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै ४० हजार घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले २०७६ जेठ १३ मा पक्राउ गरेपछि यस्तो कुराको भेद खुलेको हो । हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ हुन् । उनीहरु पक्राउ परेपछि यातायात कार्यालय र ट्राफिक प्रहरी कास्कीको मिलेमतोमा लाइसेन्स बितरणमा घुसको लेनदेन हुने गरेको कुरा पुष्टी भएको छ ।

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरुलाई ड्यामसाइडस्थित बार्दली रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।

काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरी लगायत प्रमाणहरु बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिएका छन् । दुबै जनालाई २०७६ जेठ १४ मा अख्तियारको कार्यालय काठमाडौ लगेर थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिएका छन् ।

लाइसेन्समा हुने घुसखोरीमा यातायातका कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी समेतको मिलेमतो हुँदैआएको छ । कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर मुरारी मिश्रको संरक्षणमा असई केशर मल्लले लाइसेन्समा सेटिङ गर्दैआएका छन् । इन्स्पेक्टर मिश्र प्रहरीमा सेवाप्रवेशदेखि नै विशेष गरी ट्राफिकका आकर्षक पोष्टमा बसी अकूत सम्पत्ति कमाउनेमा पर्दछन् । पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महतको पीए बसेकाले उनकै सोर्सफोर्समा उनी सधैं आकर्षक पोष्ट पाउनेमा पर्दछन् । कास्कीमा पनि महतकै जोडबलमा लगिएका हुन् ।

कास्की ट्राफिकका प्रमुख मिश्रले त्यहाँ महतकै सिफारिसमा पर्वत घर भएकाहरुलाई नै प्राथमिकता दिएर राखेका छन् । महत प्रहरी सेवामा रहुन्जेल उनका सवारी चालक रहेका असई केशर मल्ल १० बर्षदेखि कास्की ट्राफिकमा कार्यरत छन् । उनी कास्की ट्राफिकका छायाँ प्रमुख नै हुन् । उनकै सल्लाह अनुसार नै पोखराका आकर्षक ट्राफिक पोष्टहरुमा उनले खटाउने गरेका छन् । कार्यालय हेर्ने सबै उनी हुन् । सवारी नियम उल्लंघन गर्नेहरुको जरिवानामै गडबड गरी लाभ लिने गरेको आरोप पनि मल्लमाथि छ । लाइसेन्समा यातायातसँग कोटा मागेर लिखित र ट्रायलमा फेल भएकाहरुबाट घुस लिएर दिने कामको मुख्य सेटिङ मल्लले नै मिलाउने गरेका छन् ।

keshar malla 1
मुरारी मिश्र र केशर मल्ल

लाइसेन्सका बिचौलिया ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग पनि उनको कनेक्सन छ । असई मल्लको असिष्टेन्ट हवल्दार नारायण श्रेष्ठ र सिपाही लामिछाने हुन् । अर्को आकर्षक पोखरा औद्योगिक क्षेत्रको ट्राफिक पोष्टका मिनबहादुर खड्का, बगर पोष्टमा असई काजीमान खत्री, डाँडाको नाकमा डोलेन्द्र हमाल छन् । बगर र डाँडाको नाकबाट अवैध रुपमा नदी दोहन गरी सबैभन्दा बढी गिटी बालुवा बोक्ने ट्रिपरहरुको ओहोरदोहोर हुने गरेको छ । यी सबै पर्वतका हुन् । राम्रा र आकर्षक पोष्ट सबैमा पर्वत घर भएकालाई मात्र राखिएको गुनासो गैरपर्वत घर भएकाहरुको छ । उनीहरुले कास्की ट्राफिकलाई पर्वतको क्लवको संज्ञा दिने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७