मुहानमा पहिराे गएपछि तीन दिनदेखि खानेपानी वितरण ठप्प


२९ भाद्र २०७६, आईतवार
surkhet pahiro
खानेपानीको पाइपलाइन गाडिएको क्षेत्रमा गएको पहिरो । तस्विरः नयाँपेज

सुर्खेतः पहिरोले खानेपानीका संरचनामा क्षति पुर्याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्ण रुपमा ठप्प भएको सुर्खेत छ । खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार अविरल वर्षपछि विभिन्न ठाउँमा पहिरो जाँदा मुहान लगायत धेरै ठाउँमा क्षति पुगेको छ ।

‘वर्षापछिको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति र्पुयाएपछि मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो । वर्षाले एकैपटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुग्यो’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन हुन सकेको छैन । पानी नै नभएपछि कसरी वितरण गर्नु ?’

उनका अनुसार खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले भत्काएको छ । वर्षाका कारण झुप्राको लाइनबाट अत्यधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन । वर्षाले झुप्राको इन्टेकमासमेत क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन् ।

बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ । पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पुगेकोले मर्मत गर्ने काम भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ ।

आइतबार साँझसम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्ने लक्ष्यका साथ मर्मत काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा सोमबार बेलुकासम्म पानी आउने इन्जिनियर तिवारीले आश्वासन दिए ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७