नेपाल प्रहरीका डीआईजीहरुको सरुवा हुँदै, को–को पर्दैछन् सरुवामा ?


२२ कार्तिक २०७६, शुक्रबार
dig

काठमाडौं, २२ कार्तिक । गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीहरुको सरुवाको तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एक वर्षे कार्यकाल पूरा भइसकेकाले गृह मन्त्रालयले सरुवाको गृहकार्य अगाडि स्रोतले जानकारी दिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेको पनि सरुवा हुँदैछ । गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करीब पाँच महिना मात्रै छ । गत जेठ ३१ गते गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका घिमिरे कार्यसम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै त्यहाँबाट फिर्ता गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालयको प्रमुखमा सिनियर ध्येका डीआईजीलाई पठाउने इच्छा देखाएका छन् ।

गृह मन्त्रालयले आईजी खनालको चाहना बमोजिम महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी गरेको स्रोत बताउँछ । यद्यपि डीआईजी पोखरेल सकेसम्म महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा जाने इच्छा देखाएको प्रहरी मुख्यालय स्रोतले बतायो ।

सीआईबीका (कार्यकारी निर्देशक) डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । शिष्ट र शालीन स्वभावका उनी १४ महिना अगाडि एसएसपीको रुपमा नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए ।

यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्यायमध्ये एक जनालाई पठाउने तयारी थालिएको छ । खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् । यस्तै उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख छन् ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेका कारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिका लागि सरुवा फाइल पेश गरिसकेको स्रोतको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७