काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानरको थप पाँच करोड सहयोग


१० माघ २०७६, शुक्रबार
mahanarpalika

काठमाडौँ,१० माघ । काष्ठमाण्डप पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड अनुदान दिएको छ ।

यस अघि नै दुई चरणमा  पाँच करोड पचास लाख अनुदान दिएको महानगरपालिकाले यो पटक थप पाँच करोड दिएको हो । प्रदेश नम्बर तीनका सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमाण्डप पुर्ननिर्माण समितिलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार पाँच करोडको चेक हस्तान्तरण गर्दै अस्त–व्यस्त, ध्वस्त र जीर्ण बनेका सम्पदा पुर्ननिर्माण अभियानमा महानगरपालिका जुटेको बताए ।

उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि आर्थिक अभाव नहुने गरी महानगरपालिका सहयोग गर्न तयार रहेको पनि बताए ।  २०७५ साल वैशाख १ गते काष्ठमाण्डप पुर्ननिर्माण कमिटी गठन गरेर पुर्ननिर्माणको कामलाई अघि बढाएको सो समितिलाई महानगरपालिकाले सुरुमा पचास लाख दिएको थियो । सो पचास लाखले कार्यालय व्यवस्थापन गर्नेलगायतबाट काम सुरु गरेको समितिलाई महानगरपालिकाले दोस्रो चरणमा  पाँच करोड अनुदान दिएको थियो ।

‘सुरुमा हामीले पचास लाख अनुदान दिदाँ र जग खन्नै गर्दा धेरैले काष्ठमाण्डप बन्ला र भनी आशंका गरेका थिए,’ चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले भने, ‘दोस्रो चरणमा पाँच करोड दिएपछि ओहो अब त काष्ठमाण्डप बन्ला जस्तो छ भन्ने धेरै भए । अहिले हामीले फेरि पाँच करोड दिएका छौँ । अब सबै ढुक्क भए हुन्छ, काष्ठमाण्डप बन्छ,बन्छ ।’

मेयर शाक्यले काठमाडौँ महाहानगरपालिका मूर्त–अमूर्त सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा जुटेको भन्दै आफ्नो कार्यकाल भित्रै महानगर भित्रका सबै सम्पदा निर्माण–पुर्ननिर्माणको कामलाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘कुनै पनि कार्यक्रम गर्दा हामीले सर्वसम्मत निर्णय गरेर गरेका छौँ,’ मेयर शाक्यले भने, ‘मुर्त–अमूर्त सम्पदा निर्माण–पुर्ननिर्माणमा हामी सक्षम छौँ । हामीले कुनै पनि विदेशी दाता गुहार्नु पर्ने अवस्था छैन । हामी आफैँले सम्पन्न गर्न सकेनौँ भने प्रदेश र केन्द्र सरकारसँग सहयोग माग्छौँ ।

हामीलाई विदेशी गुहार्नुपर्ने आवश्यकता छैन ।’ उनले काष्ठमाण्डप पनि निर्धारित समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे उनले कुनै पनि चोक–चोकमा पुर्र्ननिर्माणका काम बाँकी छ भने वडामार्फत आउन आग्रह गर्दै कुनै पनि पुर्ननिर्माणका काम बाँकी नराख्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे। उनले रानीपोखरी र धरहराको काम पनि यहि कार्यकाल भित्र सम्पन्न हुने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद कृष्णगोपाल श्रेष्ठले पनि आर्थिक अभावमा काष्ठमाण्डपको काम नरोकिने महानगरपालिका सम्पदा संरक्षण अभियानमा जुटेको छ भन्ने प्रमाण काष्ठमाण्डप पुर्ननिर्माण भएको उनले बताए ।  कार्यक्रमलाई सम्वोधन गर्दै पुर्ननिर्माण समितिका अध्यक्ष राजेश काक्यले ५५ प्रतिशत काम सम्पन्न भएको भन्दै तोकिएको तीन वर्षको अवधीमा काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिले पहिलो तलाको छाना छाउने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘दोस्रो तलाको झ्याल राख्ने काम पनि भैरहेको छ । हामी निर्धारित समयमै काम सम्पन्न गर्र्छौ ।’
उनले २०७५ वैशाख ३१ गते क्षमा पुजार गरेर काम सुरु गरेको र अहिलेसम्म निरन्तर रुपमै काम अघि बढेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘हामीले सत्यमोहन जोशी र तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा क्षमा पुजार गरेर काम अघि बढाएका हौँ । अहिले काम सन्तोषजनक रुपमा अघि बढेको छ,’ उनले भने, ‘गत साउनसम्ममा हामीले १ सय ओटा थाम उठाउन सफल भएका थियौँ ।’
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सबै मिलेर अघि बढ्ने हो भने विकास सम्भव भएको बताए । उनले रानीपोखरीलगायतका सम्पदा पनि अब छिटै सम्पन्न हुने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७