वञ्चरो प्रहार गरी एकल महिलाको हत्या, गहना लुट्न हत्या गरिएको आशंका


१४ माघ २०७६, मंगलवार
brida

लमजुङ, १४ माघ । लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक एकल महिला (वृद्धा) को बन्चरो प्रहार गरी हत्या गरिएको छ ।

स्थानीय ६० वर्षीया सीता भुजेल पोख्रेलको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । डुम्रे–बेंसीसहर सडकखण्डको पाउँदी बजारमा बस्ने पोख्रेल एकल महिला हुन् ।
घाँटीमा बञ्चरो रहेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बञ्चरो मृतकको घाँटीमा गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा रगत छरपष्ट भएको र शव वरपर मकै छरिएको भेटिएको स्थानीयले बताएका छन् ।

१८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी सीताका सन्तान छैनन् । मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी माइती भएकी उनी बाख्रा व्यवसाय गर्थिन् । भाडामा बसेर बाख्रा व्यवसाय गरी ८ वर्षअघि उनले आफ्नै घर बनाएकी थिइन् । उनकोमा अहिले पनि १२ वटा बाख्रा छन् ।

उनले कानमा लगाएको गहना र केही नगद समेत हराएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीकाअनुसार सीताले लगाएको अढाई तोला सुनका ठूला ठूला रिङ कानबाट चुँडालेको देखिएको छ । उनले केही दिनअघि खसी बेचेको २२ हजार रुपैयाँ पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट दुई वटा कुकुर झिकाएर घटनाको अनुसन्धान गरिएको थियो । हालसम्म शंकास्पद व्यक्तिलाई सोधपुछ बाहेक प्रहरीले कसैलाई पक्राउ गरेको छैन् । अनुसन्धानपछि कुकुर फिर्ता पठाइएको प्रहरी प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले बताएका छन् ।

घटना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर कोही नहुँदा ढिला गरी प्रहरीले जानकारी पाएको थियो । ‘घटना कर्तव्य ज्यान प्रकृतिको छ । हामीले अनुसन्धान गरिरहेका छौं,’ गुरुङले भने । मृतकको शव पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७