बिरामी जाँच्न यसरी पन्छिन्छन् निजी अस्पताल


२६ चैत्र २०७६, बुधबार
hospital
सांकेतिक तस्वीर

काठमाडौं, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् ।

कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।
सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ ।

सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् ।

चीनमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो ।

त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् । तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् ।

कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्ना समेत लिन मानेका छैनन् । तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो ।

आकस्मिक कक्षमा बुझ्न जाँदा सुरुमा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो । त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए ।

उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा त्यहाँबाट त सीधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो । ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो ।

रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो । डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो ।

ग्वार्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ । अस्पतालले सुुरुदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालका डा. सरिता पाण्डेले दिइन् ।

कोभिड–१९ बिरामीका बारेमा सो अस्पतालले सम्पर्क व्यक्तिका रूपमा डाक्टर पाण्डेलाई तोकेको छ । उनका अनुसार अस्पतालले प्लान ‘सी’अनुसार आइसोलेसन वार्ड तयारी गरिरहेको छ । सो अस्पतालले अध्ययन अध्यापन गराउँदै आएको बीएमआईमा छुट्टै आइसोलेसन वार्ड तयारी गरिरहेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७