६१ प्रतिशत नेपालीको बैंक खाता


१३ जेष्ठ २०७७, मंगलवार
bank account

काठमाडौं, १३ जेठ । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ ।

चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलेको र वित्तीय पहुँच समेत बढेको पाइएको हो ।

अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुल्न बाँकी छ । बैंक तथा वित्तीय संस्था एवं लघुवित्त वित्तीय संस्था समेतको शाखा संख्या नौ हजार ६४० पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण २०७६–७७ मा चालू आवको फागुन मसान्तसम्म २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी कूल १६२ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

अघिल्लो फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७ प्रतिशतले बढेकामा चालू आवको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भई रु ३४ खर्ब ९४ अर्ब २१ करोड पुगेको छ । गत फागुन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जाको वृद्धि ११.३ प्रतिशत रहेको छ । अघिल्लो आवको फागुनमा सो वृद्धिदर १५.७ प्रतिशत रहेको सर्वेक्षणमा समावेश छ ।

गत फागुन मसान्तसम्म वैदेशिक रोजगारमा जाने कामदारसहितको गरी २६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वेक्षणअनुसार गत फागुन मसान्तसम्म सहकारी संस्थाको संख्या ३४ हजार ८३७ पुगेका थिए भने शेयर सदस्य संख्या ६५ लाख १५ हजार ४६० र शेयर पूँजी रु ७७ अर्ब २४ करोड रहेको छ । सहकारी क्षेत्रले ६८ हजार ४०० लाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

यस्तै गत फागुन मसान्तसम्म धितोपत्र बजार पूँजीकरण रु १७ खर्ब ६० अर्ब ९३ करोड रहेको छ । गत फागुन मसान्तसम्म कूल वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात २.६ प्रतिशतले घटेर रु नौ खर्ब २४ अर्ब २४ करोड रहेको छ । यसअघि वस्तु व्यापार घाटा ४.३ प्रतिशतले सङ्कुचन भई रु आठ खर्ब ४९ अर्ब ३३ करोडमा सीमित भएको छ ।

आर्थिक वर्ष २०७५–७६ को फागुन मसान्तसम्म रु ५८ अर्ब ९९ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको सोही अवधिमा रु ३७ अर्ब ८४ करोडले बचतमा छ । अघिल्लो फागुन मसान्तसम्म रु एक खर्ब ९१ अर्ब ४९ करोडले घाटामा रहेको चालू खाता चालू आवको सोही अवधिमा सुधार भई रु एक खर्ब २४ अर्ब ९३ करोडमा कायम छ ।

गत फागुन मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति २०७६ असारको रु १० खर्ब ३९ अर्बबाट बढेर रु ११ खर्ब ३६ अर्ब ५१ करोड पुगेको छ । यो सञ्चिति १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७