भारत-पाकिस्तान गोलाबारीमा नेपाली गोर्खा सैनिकको निधन


९ असार २०७७, मंगलवार
gorkha

काठमाडौं, ९ असार । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ ।

गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए । केही घण्टापछि उनको मृत्यु भएको जनाइएको छ ।

उनी जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए । कार्की ३–५ गोरखा राइफल्समा हवल्दार पदमा थिए ।

उनी गुल्मी छत्रकोट गाउँपालिका–५, खर्ज्याङका शालिकराम कार्कीका छोरा भएको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिएका छन् ।

‘उहाँका साना तीन सन्तान छन्,’ अध्यक्ष पन्तले भने, ‘उहाँको अन्त्येष्टि गर्न परिवारका सदस्य आज बिहानै भारतको गोरखपुर हिंड्नु भएको छ ।’ भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले कार्कीको मृत्युबारे जानकारी गराएका छन् ।

‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए, उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७