पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

देशभर १२,३०९ संक्रमित : २,८३४ उपचारपछि निको भए, ९,४४७ उपचाररत, २८ को मृत्यु


१४ असार २०७७, आईतवार
korona 1

काठमाडौं, १४ असार । पाँच महिनाको अवधिमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । अहिलेसम्म नदेखिएको रसुवामा पनि शनिबार नौजना संक्रमित फेला परेका छन् ।

देशभर संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको छ भने २८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाको पहिलो संक्रमण ९ माघमा देखिएको थियो । चीनबाट फर्किएका जनकपुरका युवामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमणबाट सबैभन्दा धेरै प्रदेश २ प्रभावित भएको छ, जहाँ अहिलेसम्म तीन हजार पाँच सय ८१ जना संक्रमित देखिएका छन् ।

उनीहरूमध्ये एक हजार एक सय २३ उपचारपछि घर फर्किएका छन् भने दुई हजार चार सय ५५ जना अहिले पनि अस्पतालमा उपचारत छन् । त्यस्तै, तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ मा तीन हजार चार सय ६५ संक्रमित देखिएका छन् । उनीहरूमध्ये पाँच सय ४३ जना निको भएर घर फर्किएका र दुई हजार नौ सय १३ उपचारमा रहेका छन् । संक्रमणबाट सबैभन्दा धेरै नौजनाको मृत्यु यही प्रदेशमा भएको छ ।

त्यस्तै, सुदूरपश्चिममा देखिएका दुई हजार १२ संक्रमितमध्ये एक हजार नौ सय ३२ जना अहिले पनि उपचारको क्रममा छन् । यो प्रदेशमा संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा एक हजार चार सय ४५ संक्रमित देखिएका छन् । उनीहरूमध्ये नौ सय २२ जनाको उपचार भइरहेको छ भने पाँच सय १९ जना निको भएका छन् । चार जनाको मृत्यु भएको छ ।

त्यस्तै, गण्डकीमा देखिएका आठ सय ६६ संक्रमितमध्ये सात सय ८४ को उपचार भइरहेको छ । ८० जना निको भएर फर्किएका छन् । दुई जनाको मृत्यु भएको छ । प्रदेश १ मा पाँच सय ४९ संक्रमित देखिएका छन् । उनीहरूमध्ये तीन सय ७५ जना निको भएर फर्किएका छन् भने एक सय ७४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै, बागमती प्रदेशमा संक्रमणबाट पाँचजनाको मृत्यु भएको भएको छ । संक्रमण देखिएका तीन सय ९१ मध्ये एक सय १९ जना निको भएर फर्किएको र दुई सय ६७ को उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित रौतहटमा देखिएका छन् । शनिबारसम्म यहाँ देखिएका एक हजार तीन सय २६ संक्रमितमध्ये तीन सय २५ निको भएर फर्किएका छन् भने एक हजार एक उपचारकै क्रममा छन् । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार र शुक्रबार थप एक–एकजनाको कोरोनाबाट मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसियूमा उपचाररत कैलाली गोदावरीका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

त्यस्तै, शुक्रबार मृत्यु भएकी ३० वर्षीया महिलामा पनि संक्रमण रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । ११ असारमा अचेत अवस्थामा फेला परेकी उनको सनाखत हुन सकेको छैन ।

‘कोरोना जन्तर’ले शरीरका अंगमा हानि पुर्‍याउँछ : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस नसर्ने भन्दै नेकपाका नेताहरूले घाँटीमा ‘भाइरस रिमुभिङ कार्ड’ झुन्ड्याएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बरु, रसायनयुक्त उक्त कार्डले व्यक्तिको मुटु, फोक्सो, कलेजो, मिर्गौलालगायत महत्वपूर्ण अंगमा हानि पु¥याउने मन्त्रालयले जनाएको छ ।

‘यस्ता कार्डले भाइरस नलाग्ने पत्ता लागेको भए संसारमा अहिले यति कठिनाइ हुने थिएन । अहिलेसम्म त्यस्तो कार्ड बनेको छैन । त्यसैले यस्ता भ्रामक प्रचारका पछाडि नलाग्न र रिमुभिङ कार्डको प्रयोग नगर्न सबै नागरिकमा आग्रह गर्छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । त्यस्ता कार्डले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेता नीलो डोरीसहितको ‘भाइरस रिमुभिङ कार्ड’ लगाएर स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले कार्ड भिरेका थिए । यसबाट आमजनतामा भ्रम सिर्जना भएको पनि प्रवक्ता गौतमले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७