राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, परराष्ट्रमा नवराज ढुंगाना


२३ बैशाख २०८१, आईतवार
Chakra Budha2024 05 01 04 05 15
चक्र बुढा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । बुढालाई भर्खरै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहिरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।

अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए । राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभागभन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको हो ।

यसरी पटक–पटक महानिर्देशक फेर्दा राजस्व अनुसन्धान विभागको नेतृत्व भने अस्थिर बनेको छ । ढुंगानाभन्दा अघिका महानिर्देशक रहेका नारायण सापकोटाले विभागका तीन महिना मात्रै विभागमा काम गर्न पाएका थिए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो । विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन ।

ओली सरकारका पालामा राजश्व अनुसन्धान विभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि यसको दुरुपयोग बढ्दै गएको छ । पछिल्लो पटक सवैभन्दा लामो समयसम्म विभागको नेतृत्व दीर्घराज मैनालीले गरेका थिए । उनले २०७५ जेठदेखि ७७ फागुनसम्म विभागको नेतृत्व गरेका थिए । त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना महानिर्देशक बने । उनीपछि प्रकाश पौडेल विभागको नेतृत्वमा आएका थिए, जो ८ महिना पनि टिक्न सकेनन् ।

असार २०७९ मा विभागमा आएका झलकराम अधिकारी चार महिनामै सरुवा भए भने कार्तिक २०७९मा महानिर्देशक बनेका मदन दाहाल तीन महिना पनि टिक्न सकेनन् । गत माघमा विभागमा पठाइएका नारायण सापकोटालाई चार महिनामै सरकारले सरुवा गरेर प्रधानमन्त्रीका निजी सचिवका रुपमा काम गरिरहेका सहसचिव ढुंगानालाई पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७