एमाले सुदूरपश्चिमका नेताहरुलाई ओलीको निर्देशन : विश्वासको मतका लागि हतार नगर्नू

संसदीय दलका नेता रावल भन्छन्–समाजवादीले अर्कातिर खुट्टा हाल्दैछ


२३ बैशाख २०८१, आईतवार
kp

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

शनिबार राति अबेर सुदूरपश्चिम एमाले संसदीय दल नेता राजेन्द्र रावलसहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । पछिल्लो समय सत्ता गठबन्धन दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढीरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए ।

अध्यक्ष ओलीको निवास बालकोटमा दुई घण्टा बढी भएको छलफलमा विश्वासको मत लिन अझै समय भएको बताएका नेता रावलले जानकारी दिएका छन् । ‘विश्वासको मत लिनका लागि हामीसँग जेठ ५ गतेसम्मको समय छ । उहाँहरूलाई सहजीकरण नै गरेका छौं । बझाङमा एक सिट थपिदिएका छौं,’ रावलले भने, ‘निर्वाचित सांसदले शपथ नै खानुभएको छैन । अहिले नै हतारिएर विश्वासको मत किन लिनुपर्‍यो ?’

उनले सरकार सञ्चालनको आधार तयार नभई विश्वासको मत दिने आधार पनि तयार नहुने बताए । ‘सरकार सञ्चालनको आधार तयार गर्नुप¥यो । न्यूनतम साझा कार्यक्रम हुनुपर्‍यो । त्यो केही तय नगरी हतारिएर विश्वासको मत लिनु पर्दैन,’ उनले भने, ‘फेरि अर्कोतिर खुट्टा हालिरहेको पनि देखिन्छ । त्यस कारण हामी विश्वासको मत दिन हतारिने पक्षमा छैनौं । आजै मुख्यमन्त्री काठमाडौं आइराख्नु भएको छ भन्ने पनि सुनेका छौं । उहाँसँग पनि बुझ्नुस् ।’ शनिबार मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो। बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए । यसअघि शुक्रबार तय गरिएको बैठक पनि स्थगित भएको थियो ।

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा असहज मान्दै आएको छ । सुरूमा उनलाई मुख्यमन्त्री समेत स्वीकार गरेको थिएन । एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भने पनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो । त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ । एमालेले विश्वासको मत लिन छलफल नै नगरी प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रस्ताव दर्ता गराएकाले आफूहरू आन्तरिक छलफलमा रहेको बताउँदै आएको छ ।

सत्ता समीकरणमै रहेको दल विश्वासको मतबारे अन्योल देखिएपछि सुदूरपश्चिममा माओवादी केन्द्र र समीकरणमा रहेका अन्य दल सशंकित भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने विषयमा नै संशय पैदा भएको नेताहरू बताउन थालेका छन् । सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।

एमाले मात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ । रेशम चौधरी पक्षले मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ सांसद सरकारमा छन् । नागरिक उन्मुक्तिका रेशम पक्षका पाँच जना सासंद मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा छन् । मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७