पूर्व डीएसपीले नै बुहारीलाई अश्लील म्यासेज पठाएपछि …


१८ आश्विन २०७७, आईतवार
dsp

काठमाडौं, १८ असोज । प्रहरीहरु सेवामा हुँदा मात्र होइन सेवाबाट अवकास भइसकेपछि पनि गाउँ समाजमा शान्ति, सुरक्षा र नैतिकता सिकाउन अगुवाको रुपमा मानिन्छन् ।

तर, सबै प्रहरी अधिकारी अवकासपछि गाउँ समाजका लागि उदाहरणीय व्यक्ति बनिरहन्छन् भन्ने हुँदैन । एक पूर्व डिएसपीको एक असामाजिक कामले यस्तै उदाहरण पेस गरेको छ । बुहारीलाई अश्लील म्यासेज पठाउने पूर्व डीएसपी कृष्णकुमार खड्कालाई अदालतले ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तिराएको छ ।

काठमाडौं जिल्ला अदालतले दुई वर्ष पहिले परेको मुद्दामा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १३ का खड्कालाई दोषी ठहर गर्दै सजाय र जरिवाना तिराउने फैसला गरेको हो ।
मधु साह भन्ने सुमना खड्काले २०७५ असोज २१ गते जेठाजुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दा परे लगत्तै पक्राउ परेका खड्कालाई १५ दिन हिरासतमा राखियो ।

त्यतिबेला अदालतले उनलाई पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
जाहेरवाला पीडितलाई पुग्न गएको मानसिक पीडाबापत २५ हजार रुपैयाँ क्षतिपूर्ति भराई दिन फैसलामा भनिएको छ । पूर्व डीएसपी खड्काले म्यासेज पठाएको मोबाइल जफत गरिएको छ ।

उनलाई यसअघि १५ दिन हिरासतमा राखिएको थियो । हिरासत बस्दाको रकम ४ हजार ५ सय भने जरिवानामा नै कट्टा हुनेछ । पूर्व डीएसपी खड्काले आफ्नै बुहारी (भाइकी श्रीमती) लाई जिस्काउने, हैरानी गर्ने र अपमान गर्ने हेतुले अमर्यादित ढंगले फेसबुक आईडीमा कमेन्ट गर्ने, म्यासेन्जरमा म्यासेज पठाउने कसुर गरेको देखिएको छ ।

सुमनाको परिवारमा राम्रो सम्बन्ध थिएन। आफूलाई सासू, ससुरा जेठाजुसमेतले मानसिक यातना दिएको तथा बोक्सी आरोप लगाएको र घरबाट निकालेको बताएकी छन्।

उनले श्रीमानसँग सम्बन्धविच्छेदका लागि २०७२ सालमै जिल्ला अदालत बाँकेमा निवेदन दिएकी भए पनि मुद्दा विचाराधीन छ । त्यसपछि पनि खड्का परिवारका सदस्यले आफूलाई यातना दिने गाली बेइज्यती गर्ने जस्ता कार्य नरोकेको उनले उल्लेख गरेकी छन् ।

तर, पूर्व डीएसपी खड्काले भने बुहारीलाई म्यासेज र कमेन्ट गरेको फेसबुक आईडी आफ्नै भए पनि ह्याक भएको बताएका थिए । ह्याकरले नै यस्ता म्यासेज पठाएको भन्दै बचाऊ गरे पनि अदालतले उक्त दाबी पुष्टि हुन नसकेको ठहर गर्दै यस्तो फैसला गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७