चाडपर्वमा पनि ‘होम डेलिभरी’ लाई निरन्तरता दिइने


१८ आश्विन २०७७, आईतवार
home deliver

काठमाडौं, १८ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मूल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’ लाई निरन्तरता दिने भएको छ ।

कोभिड-१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए ।

त्यतिबेला दैनिक झण्डै ६० वटासम्म अर्डर आएकामा अहिले दैनिक झण्डै आठ-नौ वटा मात्रै अर्डर आएका छन् । बन्दाबन्दीको समयमा नागरिक खाद्यान्न किन्न टाढा जान नसक्ने भएकाले बढी अर्डर आए पनि अहिले यातायात सहज भएकाले अर्डर कम भएको उनको भनाइ छ । उनले भने, ‘नागरिकले सही मूल्यमा खाद्यान्न पाएमा यहीँबाट किन्नुपर्छ भन्ने पनि होइन ।’

कम्पनीले सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्षित गरेर ‘होम डेलिभरी’ शुरु गरेको थियो । पहिले कम्पनीको मात्रै सामान राखिएकामा अहिले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानको सहकार्यमा तीनै संस्थाको खाद्यान्न तथा खाद्य सामग्री एउटै स्थानबाट बिक्री भइरहेको छ । उपभोक्ताले ‘होम डेलिभरी’ मा पनि सूपथ मूल्यमा यी सामग्री पाउनेछन् ।

दशैं, तिहार, छठलगायत चाडँपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल शुरु भएका छन् ।

तीनै संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेर बिक्री गरिरहेका छन् । लिमिटेडले खाद्यान्नमा प्रतिकिलो रु पाँचसम्म छुट दिइरहेको छ । चामल, सीमी, फापरलगायतका सबै खाद्यान्नमा सामान्य अवस्थामा भन्दा छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७