राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक पुर्पक्षमा कारागार चलान


२८ आश्विन २०७७, बुधबार
rajkumar2020 09 17 09 56 54

चितवन, २८ असोज । राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको कुटपिटपछि मृत्यु घटनामा आरोपित सैनिकलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । १ साउनमा सेनाको कुटपिटबाट गम्भीर घाइते भएका चेपाङको ८ साउनमा मृत्यु भएको थियो ।

मृतकका बाबु विष्णुलालले २५ भदौमा नेपाली सेनाका हुद्दा चिरणकुमार बुढाविरुद्ध किटानी जाहेरी दिएका थिए । बुढालाई प्रहरीले ४ असोजमा नियन्त्रणमा लिएको थियो । उनको मौखिक बयानसँगै पोलिग्राफ परीक्षण समेत गरिएको चितवन प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले बताए । आरोपित बुढाविरुद्ध मुलुकी अपराध संहितको दफा १७८ अन्तर्गत मुद्दा चलाइएको थियो ।

पीडितहरूका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सातजनामध्ये दुई महिलाबाहेक पाँच पुरुषलाई कुटपिट गरेको थियो । महिलाहरूलाई पनि अपशब्द बोल्दै दुर्व्यवहार गरिएको थियो ।

उक्त घटनामा राप्ती नगरपालिका २ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजा घाइते भएका थिए । मृतक राजकुमारको शव पोस्टमार्टमका लागि ११ साउनमा काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । १२ साउन दिउँसो शव पोस्टमार्टम भएको थियो ।

नगरपालिकाले राहत दियो, निकुञ्जले दिएन
मृतक चेपाङको परिवारलाई राप्ती नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । नगर प्रमुख प्रभा बरालले आफूहरूले दिने भनेको तीन लाख रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको बताइन् ।

गत १६ साउनमा मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति जिल्ला प्रशासन कार्यालयमा भएको थियो । परिवारलाई राप्ती नगरपालिकाले तीन लाख र निकुञ्जले सात लाख दिने सर्वपक्षीय सहमति थियो ।

सहमतिअनुसार निकुञ्ज प्रशासनले भने अझै राहत रकम दिएको छैन । पूर्व निर्धारित स्रोत नभएको र नयाँ स्रोत खोजी भइरहेकाले ढिला भएको निकुञ्ज प्रमुख अणनाथ बरालले बताए । यथासक्य छिटो स्रोत व्यवस्थापन गरेर सहमतिअनुसार रकम दिन तयार रहेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७