भारतीय सेनापति किन आउँदैछन् नेपाल ?


२८ आश्विन २०७७, बुधबार
indian army chief

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेकोलाई चीनसँगको मिलेमतो भनी बात लगाउने भारतका २८ औँ सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे दशैं र तिहारको बीचमा नेपाल आउँदैछन् ।

भारतसँग बिग्रँदो कूटनीतिक तथा व्यक्तिगत सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजनाअन्तर्गत उनलाई परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको निम्तो दिइएको हो । सन् २०१९ डिसेम्बरदेखि सेनाध्यक्षको जिम्मेवारी सम्हालेका उनी सन् १९८० देखि सिख लाइट इन्फेन्ट्री रेजिमेन्टको सातौँ बटालियन कमाण्ड गर्दै चीन र पाकिस्तानसँग सीमा विवाद रहेको क्षेत्र जम्मु–काश्मिरमा लामो समय काम गरेका फौजी हुन् ।

नरवाणे कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएपछि तीर्थयात्राका लागि मुक्तिनाथ जाने कार्यक्रम तय भएको परराष्ट्रस्रोतले जनाएको छ । जम्मा तीन रात नेपालमा बिताएर २१ गते फर्कने उनले पूर्वप्रचलनअनुसार राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्ने कार्यक्रम छ । यस्तो उपाधि नेपालका प्रधानसेनापति भारत जाँदा पनि दिने गरिन्छ ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले उताको मानार्थ उपाधि ग्रहण गरिसकेका छन् । खासमा नरवाणे नेपालको नक्सा प्रकरण हुनुपूर्व नै काठमाडौं ओर्लिने कार्यक्रम थियो । कोभिडको विश्वव्यापी महामारीका कारण सात महिनाअघिकै भ्रमण तालिका सरेर अहिलेसम्म लम्बिएको हो । अहिले नेपाल–भारतबीचको संवादहीनताका कारण उत्पन्न समस्या फुकाउने सन्दर्भमा पनि उनको भ्रमण फलदायी हुने अपेक्षासहित नेपाल पक्षको जोडबलमा आउन लागेका हुन् ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७