कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’

‘देशलाई अप्ठ्यारो पर्दा अघि नआए कहिले आउने ?’


२२ बैशाख २०७८, बुधबार
htn 11620174965

काठमाडौं, २२ बैसाख । ‘हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किदै छौं’, मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए ।

हाम्रो टिम नेपालका अध्यक्ष पन्तसहित टिमका सदस्य अहिले यस कार्यमा खटिएका छन् । कतिखेर कुन अस्पताल वा व्यक्तिबाट फोन आउँछ भनेर उनीहरु कुरेर बस्छन् । फोन आउनासाथ संक्रमितको ज्यान बचाउन अक्सिजनको सिलिन्डर बोकेर दौडिहाल्छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेको घटना सार्वजनिक भइरहेको छ । यस्तो जटिल स्थितिमा हाम्रो टिमले तीन दिनयता निःशुल्क अक्सिजन वितरण गरिरहेको छ । अस्पताल र व्यक्तिगत गरी उनीहरुले सात ठाउँमा अक्सिजन पुर्‍याइसकेका छन् । ‘हामीले सबैभन्दा धेरै भक्तपुर अस्पतालमा उपलब्ध गराइरहेका छौँ । यसका साथै अस्पतालमा सिट छैन भनेर घर फर्काइएका कोरोना संक्रमितलाई घर–घरमै पनि अक्सिजन उपलब्ध गराइरहेका छौं’, अध्यक्ष पन्तले भने ।

अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उनीहरु चाहन्छन् । अस्पतालमा अक्सिजन उपलब्ध गराउने समयमा नै उनीहरुले प्रस्टसँग यो कुरा उल्लेख गरेर अक्सिजन दिने गर्छन् ।

तर, योबीचमा माग यति धेरै बढेको छ कि उनीहरुलाई सिलिन्डर अभाव हुन थालेको छ । ‘मुख्य कुरा अहिले हामीलाई सिलिन्डर अभावले गर्दा काम गर्न निकै अप्ठ्यारो भइरहेको छ’, उनी भन्छन्, ‘मान्छेको त्यो पीडादायी फोनहरु लगातार आइरहेका छन् । यस्तोमा कसलाई दिने, कहाँ दिने भइरहेको छ । त्यसैले कृपया कसैको घरमा, फ्याक्ट्रीमा वा कतै अक्सिजन सिलिन्डर छ भने हामीलाई उपलब्ध गराइदिनुहुन म आग्रह गर्छु । यो दुःखको समयमा हामीलाई यति सहयोग गरिदिनुहोस्, पछि सिलिन्डर फिर्ता गरिदिने छौँ ।’

आफूहरुले सकेसम्म सहयोग गर्ने उनले बताए । ‘राज्यले आफ्नो व्यवस्था आफैँ गर्नू भनेपछि हाम्रो टिमसँग नागरिकको भरोसा छ’, उनी उत्साहजनक सुनिए, ‘अक्सिजनको अभावले कुनै पनि नेपालीको ज्यान नजाओस् भन्ने हाम्रो कामना र उद्देश्य हो ।’

संक्रमितलाई निःशुल्क प्रदान गरे पनि यो समूहले अक्सिजन किनेरै ल्याइरहेको छ । अहिले उनीहरुसँग ३० वटा सिलिन्डर छन् र तीमध्ये प्रत्येक सिलिन्डरको डिपोजिट १८ हजार पर्छ । त्यो १८ हजारमा सुरुमा ल्याउँदा सिलिन्डर भरिएको पाइन्छ । तर, त्यसपछिको प्रत्येकपटक अक्सिजन भर्दा ६०० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

उनीहरुले दैनिक २५ सम्म अक्सिजन आपूर्ति गरिरहेका छन् । मंगलबार माग संख्या बढेर ३० नाघेको पन्त बताउँछन् । योबाहेक हाम्रो टिम नेपालले ज्याला, मजदुरी गर्ने वर्गलाई दैनिक खाना पनि खुवाइरहेको छ । सडकका अलपत्र र मनोरोगीलाई खाना खुवाइरहेको यस समूहले कोरोना महामारीका कारण निषेधाज्ञा भएदेखि विपन्नलाई पनि खाना दिन थालेको हो । गत वर्ष लकडाउनमा पनि हाम्रो टिमले आर्थिक अवस्था कमजोर भएकालाई खाना उपलब्ध गराएको थियो ।

अध्यक्ष पन्तले ०७२ सालको भूकम्पको समयमा एक्लैले सुरु गरेको समाज सेवाको यो काममा अहिले हजारभन्दा बढी सदस्यहरु आबद्ध छन् । ‘हामीलाई बेलायतमा हुनुभएका इशा र सुनीता गुरुङ दिदी–बहिनीहरुले आर्थिक सहयोग जुटाई दिइराख्नु भएको छ । यसबाहेक हाम्रा सदस्यहरुबाट उठाउने न्यूनतम सदस्य शुल्क नै हाम्रो आयस्रोत हो’, पन्तले बताए ।

विपद्मा सहयोग गर्ने मात्रै नभई यो समूहले आत्मनिर्भरका कार्यक्रमहरु पनि ल्याइरहेको छ । हालै अभिनेता पल शाहले हाम्रो टिमसँग सहकार्य गरेका छन् । पलसँगको सहकार्यबारे पन्त भन्छन्, ‘हो, उहाँसँग फोनमा कुरा भएको हो । यो अप्ठ्यारोमा कोभिडका बिरामीलाई बचाउन हामी जोसँग सहकार्य गर्न पनि तयार छौँ ।’

महामारीको समयमा हाम्रो टिम नेपालका सदस्य ‘रेड जोन’ मै पुगिरहेका छन् । यस्तो अवस्थामा डर लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘डरभन्दा पनि समाज अनि नागरिकका लागि केही गरौँ भन्ने उद्देश्यले उत्पत्ति भएको समूह हो । डर त लाग्छ । तर पनि कोरोना संक्रमित हाम्रा दाजु–भाइ, दिदी–बहिनीहरुको माया धेरै लाग्छ ।’

उनी अगाडि थप्छन्, ‘घरमा आमा–बुवाले बाहिर नजा भन्नुहुन्छ । तर, यो बेला नागरिकलाई, देशलाई अप्ठ्यारो पर्दा अघि आएनौँ भने अरु बेला कहिले आउने त ?’, उनी प्रतिप्रश्न गर्छन्, ‘आखिरमा एक दिन मर्नु नै पर्छ, समाज सेवा गरेर किन नमर्ने ?’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७