गण्डकीमा वैकल्पिक सरकार गठनको समय सकिंदै, प्रदेश प्रमुखको कार्यालय अझै सुनसान

विपक्षी गठबन्धन सपथको निम्तो कुर्दै, पदमुक्त कृष्ण थापा प्रदेश प्रमुखको निवासमा


२९ जेष्ठ २०७८, शनिबार
Krishna Chandra Nepali 1024x601 1

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय अहिले दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई हस्ताक्षर बुझाइसकेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्ने भन्दै शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी थिइनन् । उक्त समयसीमा अहिले ३ बजे सकिँदैछ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि आज ३ बजेसम्मको समय सीमा दिँदै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाएपछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेश गरेका थिए । सशरीर प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु पुगेर नयाँ सरकारको दाबी पेश गरेका थिए ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।

विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।
तर मुख्यमन्त्री नियुक्तबारे अहिलेसम्म कुनै सूचना नआएको एक सांसदले जानकारी दिएका छन् । ‘३ बजेसम्म हेरौं’, ती सांसदले भने, ‘बहुमतलाई कुल्चेर संविधान विपरित जाने प्रायस हुँदैन होला ।’

विपक्षीले समयमै दाबी पेश गरे पनि प्रदेश प्रमुखले नियुक्तिमा विलम्ब गर्दा विपक्षी गठबन्धन झस्केका छन् । ‘प्रदेश प्रमुख विरामी हुनु भयो भन्ने हल्ला पनि चलेका छन्’, माओवादी केन्द्रका एक नेताले भने, ‘प्रदेश प्रमुखको कार्यालय पनि सुनसान छ । संविधान मिच्ने काम नहोस् ।’

मुख्यमन्त्रीसहित तीन मन्त्रीको सपथ तयारी
कांग्रेससहितको गठबन्धन आज मुख्यमन्त्रीसहित ३ जना मन्त्रीलाई सपथ गराउने तयारीमा छ । जसमा माओवादी केन्द्रका एक र जसपाका एक जना रहने जनाइएको छ ।

माओवादीबाट दीपक कोइराला वा रामजी बरालमध्ये एक जनाले सपथ लिने छन् भने जसपाबाट हरिशरण आचार्य मन्त्री बन्ने निश्चित छ । उनीहरुको मन्त्रालयबारे भने कुनै टुंगो लागेको छैन ।
जनमोर्चाका कृष्ण थापा प्रदेश प्रमुखको निवासमा
गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका छन् । शनिबार थापा प्रदेश प्रमुख सीताकुमारी पौडेलको पोखरास्थित सरकारी निवास पुगेका हुन् ।

199218566 837443416896676 122224266430348508 n1623488267

उनले आफू राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन् । जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार उनी दोस्रोपल्ट पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।

उनले प्रदेश प्रमुखलाई आफ्नो दलको समर्थन विपक्षी गठबन्धनलाई नरहेको जानकारी गराउन सक्छन् । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि पनि गएको बिहीबार थापालाई पदमुक्त गरिएको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका थापालाई सर्वोच्चले अन्तरिम आदेशसहित आइतबार पुनर्बहाली गरेको थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । संसदीय दलको ह्वीप उल्लंघन गरेपछि उनी शुक्रबार फेरि पदमुक्त भएका थिए । शनिबार थापाले प्रदेश प्रमुखलाई भेटेर निस्किएका छन् । थापाले आफ्नो कारबाहीबारे प्रदेश प्रमुखलाई जानकारी गराएको जनाएका छन् । उनीसँगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७