ट्याङ्करले एकैपल्ट दुईटा मोटरसाइकललाई ठक्कर दिंदा दुई बालिकाको गयो ज्यान


१२ असार २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सप्तरी, १२ असार । सप्तरीमा तेल बोक्ने ट्याङ्करले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्याङ्करले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्याङ्करले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करले स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ कि ८ बर्षकी यशोधा देवीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए । यो मोटरसाइकल मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेका थिए । मोटरसाइकलमा मण्डलसहित उनकी दिदी सुमनदेवी र भाञ्जी यशोधा सवार थिए ।

यस्तै स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका–६ बस्ने सुनैया प्रबीणको सोही ट्याङ्करको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्याङ्करले ठक्कर दिएको प्रहरी निरीक्षक द्विवेदीले बताए । दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७