कुटपिट गरी दलित युवकको हत्या


२६ श्रावण २०७८, मंगलवार
om sunarr iHgRbBEqEo

धनुषा, २६ साउन । धनुषामा कुटपिट गरी एक दलित युवकको हत्या भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार बस्ने ३५ वर्षीय चेंग्वा भन्ने ओम मल्लिक डुमको हत्या भएको हो ।

आपसी विवादमा निर्घात कुटपिटबाट गम्भीर घाइते ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिएका छन् । गएको साउन १८ गते राति १० बजेको समयमा मदिरा सेवन गरेका ओमको आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग विवाद भएको थियो । विवादको क्रममा राकेश र उनकी दिदी ३५ वर्षीया रिंकी देवीलगायत तीन जनाले चिर्पटले निर्घात कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् ।

कुटपिटबाट पेट र टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका ओमको स्थानीयस्तरमा उपचार नभएपछि थप उपचारको जनकपुर र त्यसपछि धरान रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुँदा विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।

एउटा बेग्लै विवादमा पीडक कुर्मीले सम्पूर्ण डुम समुदायलाई गाली गरेपछि त्यसो नगर्न ओमले आग्रह गरेको उनका ज्वाइँ नाता पर्ने शत्रुधन मल्लिकले बताए । त्यही क्रममा भनाभन भएपछि कुर्मी परिवारले आक्रमण गरेका थिए । ओमले त्यतिबेला मदिरा सेवन नगरेको शत्रुधनको भनाइ छ ।

ओमकी श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले सखुवा बजार सरसफाइ गरी परिवारको जोहो गर्दै आएका थिए । ओमको मृत्यु पश्चात घटनामा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । परिवारजनले तीन जनाविरुद्ध इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा किटानी जाहेरी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७