अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो संयन्त्र


३१ श्रावण २०७८, आईतवार
pararastra

काठमाडौं, ३१ साउन । सरकारले संकटग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्क आउन आग्रह गरेको छ । श्रम मन्त्रालयमा आज (आइतबार) बसेको बैठकले अफगानिस्तानका विभिन्न शहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन आग्रह गरिएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयका अधिकारीहरुबीचको बैठकले अफगानिस्तानमा अलपत्र नेपालीलाई उद्धारका लागि भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो । त्यसका लागि अफगानिस्तानका नेपाली र तिनका परिवारलाई लक्षित गर्दै सूचना निकाल्ने निर्णय भएको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले बताएका छन् ।

परराष्ट्रले बनायो संयन्त्र

यता परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतवार बोल्दै परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको बताएका हुन् ।

Bharat Raj Paudel
परराष्ट्र सचिव भरतराज पौडेल

उनका अनुसार त्यहाँ रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि समिति गठन गरिएको हो । उक्त समितिमा सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि सदस्य रहने बताइएको छ । अहिले काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नआएका नेपालीलाई सम्पर्क गर्न सूचना निकाल्न लागिएको छ ।

काबुलमा फसेका नेपालीहरुले आफ्नो अवस्थाबारे अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताएका छन् । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ । यसैबीच आइतबार तालिबानका लडाकु राजधानी काबुल पुगेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेर काबुल छिरेको हो ।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिबान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण शुरू गरेको बताएका छन् । तालिबान लडाकुहरु काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् ।

यसैबीच तालिबान लडाकुले सत्ता पल्टाउन लागेपछि अफगानिस्तानी राष्ट्रपति अशरफ घानी अहिले आपतकालीन बैठकमा जुटेका छन्। उनले अहिले अमेरिकी विशेष दूत जलमे खलीलजाद र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का उच्च अधिकारीहरूसँग वार्ता गरिरहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७