‘भ्रष्टाचारको अखडा’ मा अख्तियारको छापा


१३ आश्विन २०७८, बुधबार

काठमाडौं, १३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा अत्याधिक भ्रष्टचार भएको समाचारहरु सार्वजनिक भएका थिए । पछिल्लो प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको तथ्य सार्वजनिक भएको थियो ।

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको तथ्य सार्वजनिक भएपछि अख्तियारले छानविनको लागि छापा मारेको हो । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

मुख्यमन्त्री कार्यालयले कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनेको थियो । खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश सभामा समेत यसबारेका आवाज उठेको थियो। तर, संसदीय समितिले छानबिनका लागि कागजपत्र माग गर्दा समेत मुख्यमन्त्री कार्यालयले दिन मानेको थिएन ।

गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएका १७ हजार दुई सय ६२ साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख गरिएको थिएन । अभियान सञ्चालन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो ।

दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक भेटिएको छ । कार्यालयका अनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको छ, जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।

अख्तियारको छापापछि सत्तारुढ गठबन्धनका नेताहरुले पनि खुसी व्यक्त गरेका छ । सत्तारुढ गठबन्धनका एक नेताले नयाँ पेजसँग भने, ‘प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भ्रष्टचारको अखडा जस्तै भएको थियो । राम्रो काम भएको छ ।’ साइकल खरिद गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय टेन्डर आह्वान गरेको थियो । तर, टेन्डर आह्वान गरिएपनि पछि कार्यालले आपूर्तिकर्ता भारतीय सप्लायर्ससँग मिलेर सोझै खरिद गरेको थियो ।

अख्तियारको छापा हेर्नुहोस् भिडियो :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७