लम्बियो बागमती सरकारको आयु, मत विभाजन दशैं पछि मात्र


२४ आश्विन २०७८, आईतवार
Asta Laxmi Shakya

हेटौंडा, २४ असोज । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारको आयु लम्बिने भएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव आज (आइतबार) प्रदेशसभामा पेश गरेकी छन् । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेवल भए पनि मत विभाजन प्रक्रिया भने अर्को बैठकमा गरिने भएसँगै उनको सत्ता लम्बिएको हो । मुख्यमन्त्री शाक्य उपाध्यक्ष रहेको एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गतेसम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भए पनि दलहरुको सहमतिमा कात्तिकको पहिलो हप्ता मत विभाजन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।

‘दशैंको समय छ । सत्ता पक्षको आग्रहअनुसार दशैंपछि मत विभाजन गर्ने सहमति भएको हो । हामी एक हप्ताभित्रमा विश्वासको मत विभाजन गर्नेछौं’, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले भने । सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय र कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा दशैंपछि विश्वासको मत लिने सहमति भएको थियो ।

‘सत्तापक्षले दसैंपछि मत विभाजनको प्रस्ताव गरेपछि हामी सहमत भएका हौं ।’, कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार कार्यव्यवस्थाको बैठकमा सहमति नजुटेपछि शीर्ष नेतासहित बसेको सर्वदलिय वैठकमार्फत कात्तिकको पहिलो हप्ता मत विभाजन गर्ने सहमति भएको हो ।

एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजनमा १३ सांसदले नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी थिइन् । प्रदेशसभा नवौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवौं अधिवेशनको पहिलो बैठक सकिएर सभामुख श्रेष्ठले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७