डोकोमा गाग्रीमा पानी बोक्ने दुःखबाट मुक्त


प्रकाशित मिति : October 13, 2021

तनहुँ, २७ असोज । तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जान्छिन् । पानीको जोहो गर्न सबेरै जानुपर्ने उनको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिंडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भइसकेको थियो ।

सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्थिन् । बिहानै नपुगे खानेपानी पनि पाइँदैन थियो । ‘बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो’, उनले भनिन्, ‘एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपथ्र्यो ।’ दुवै जनालाई अब पानीको जोहो गर्न डोको बोकेर पँधेरासम्म पुग्न परेन । रोटरी क्लब अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयवासीका पानीको दुःख हटेको छ ।

सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भए पनि यहाँ वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो । ‘खानेपानीको अभावले कति दुःख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन’, सीतामायाले भनिन्, ‘आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन । पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेंसी झरे, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही बस्यौं ।’

५० वर्ष पहिला १५० घरधुरी रहेकामा खानेपानीको दुःखकै कारण अधिकांश गाउँले बेँसी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिए । खानेपानी योजना माग्दै विभिन्न तहका सरकारको ढोका गुहारे पनि सुनुवाइ नभएपछि रोटरी क्लबले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए ।

‘खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौँ, वर्षौंदेखिको पानीको दुःखले स्थानीयवासीले भोग्नुपरेको दुःख अब हट्यो’, सीतामायाले भनिन् । अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो ।

वर्षौंदेखि खोल्सा र पँधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यसहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण सुरु भएको थियो । एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण गरिएको दमौली रोटरीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । यसबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।

खानेपानीका लागि अमेरिकास्थित रोटरीले रु ८४ लाख ८१ हजार ६६७, दमौली रोटरीले रु तीन लाख ४२ हजार सहयोग गरेकामा नपुग रकम नगरपालिकाले बेहोरेको दमौली रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । २५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । यो योजनामा ३० मिटरको ट्रान्समिसन लाइन र ५८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।

खानेपानी योजना शुभारम्भ गर्दै रोटरी क्लब अफ नेपाल–भुटान ३२९२ का पूर्व गर्भनर राजीव पोखरेलले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा रोटरीले सहयोग गर्दै आएको बताए । यो योजना दिगो बनाउने काम स्थानीयवासीको भएको उनको भनाइ थियो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताए ।

‘रोटरीले नगरेको भए यो काम नगरपालिकाले गर्नुपथ्र्यो, नगरपालिकाको अभियानमा रोटरीले साथ दियो’, उनले भने । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकालाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्