एट्लेटिका मड्रिडलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा


१८ कार्तिक २०७८, बिहीबार
Liverpool1635989651

काठमाडौं, १८ कात्तिक । ‘राइट ब्याक’ ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले गोलका लागि दुई सुन्दर अवसर सिर्जना गरिदिएको खेलमा लिभरपुलले गए राति एट्लेटिको मड्रिडलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको छ ।

इङ्ल्यान्डका २३ वर्षे रक्षक एलेक्जेन्डर–आर्नोल्डको क्रसमा डिएगो जोटाले गरेको गोलबाट घरेलु टोली लिभरपुलले १३ औं मिनेटमा अग्रता लिएको थियो । एलेक्जेन्डर–आर्नोल्डकै क्रसमा सडियो मानेले २१औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए । त्यही गोल लिभरपुलको जितमा पर्याप्त बन्यो ।

३६औं मिनेटमा रक्षक फिलिपेले रातो कार्डको सामना गरेपछि भ्रमणकारी एट्लेटिको १० खेलाडीमा सीमित बन्यो । फिलिपेले मानेलाई फाउल गरेपछि रेफ्री ड्यानी म्याकिलेले रातो कार्डको दर्शन गराएका थिए । जसका कारण बलियो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध एट्लेटिकोलाई पुनरागमन गर्न कठिन बन्यो ।

४८ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो । त्यस्तै ५७ औं मिनेटमा लुइस स्वारेजले गरेको गोललाई पनि भीएआरले अफसाइड घोषित गरिदिएको थियो ।

लिभरपुलले स्पेन भ्रमणमा पनि एट्लेटिको माथि ३–२ को विजय हासिल गरेको थियो । त्यस्तै गत सिजन पनि अन्तिम–१६ मा लिभरपुलले अतिरिक्त समयमा ३–२ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो । यो जितसँगै लिभरपुल जारी सिजन १६ खेलसम्म अपराजित छ ।

समूहमा लगातार चौथो जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको हो । २०१९ को विजेता लिभरपुलले समूह ‘बी’ मा दोस्रो स्थानको एफसी पोर्टोलाई सात अंक तथा तेस्रो स्थानको एट्लेटिको मड्रिडलाई आठ अंकले पछि पारेको छ । लिग चरणमा अब दुई खेलमात्र बाँकी छन् । एसी मिलान एक अंकका साथ चौथो स्थानमा छ ।

गएराति नै सम्पन्न खेलमा पोर्टो र मिलानले १–१ को बराबरी खेलेका थिए । भ्रमणकारी पोर्टोले लुइस डियाजको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो । ६१औं मिनेटमा चान्सेल एमबेम्बाको आत्मघाती गोलमा मिलानले बराबरी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७