एमसीसी अमेरिकाले अनुदानमा दिने हो, अल्मल्याउनु हुन्न : डा. महत


४ मंसिर २०७८, शनिबार

काठमाडौं, ४ मंसिर । सत्तारुढ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमसीसी अमेरिकाले अनुदानमा दिने भएकाले दशखालका प्रश्न अगाडि सारेर अल्मल्याउनु नहुने बताएका छन् ।

उनले सत्ता गठबन्धन एमसीसीका विषयमा सकारात्मक रहेको पनि बताए । ‘अमेरिकाले पहिलो पटक नेपाललाई अनुदान दिन लागेको हो । कुनै देशलाई अनुदान दिने कुरामा दश वटा प्रश्न अगाडि सारेर अल्मल्याउनु हुँदैन । समान मापदण्डका आधारमा विदेश नीतिलाई परिमार्जन गरिनु पर्छ ।’ उनले भने, ‘गठबन्धन दललगायत एमालेमा पनि एमसीसीका विषयमा सकारात्मक छन् । जनतामा नकारात्मक भ्रम फैलाउन भएन ।’

महतले विदेशी सहयोग लिने पनि समान मापदण्ड हुनुपर्ने धारणा राखेका छन् । ‘विदेश सम्बन्धमा एउटा मित्र राष्ट्रसँग एउटा मापदण्ड र अर्को मित्र राष्ट्रसँग अर्कै मापदण्ड अपनाउन थाल्यौं भने यो नेपालको राष्ट्रिय हितमा हुँदैन ।’ उनले थपे, ‘कुनै देशसँग ऋण लिनु परेको छ । ऋणको ब्याज तिर्नु परेको छ । उसकै ठेकेदार, कामदार आउँछन् । उनीहरूको चाहेको ठाउँमा खर्च गर्नुपर्ने बाध्यता हुन्छ । कुनै देशको रकम भने हामीले तोकेको ठाउँमा खर्च हुँदैछ ।’

एमसीसी परियोजनाबाट नेपालको प्राथमिकतामा रहेको ट्रान्समिसन लाइन र सडक बन्न लागेको उनले बताए। उनले भने, ‘त्यसको सञ्चालन अर्थ मन्त्रालयको सचिवको नेतृत्वको संयन्त्रले गर्छ ।’ उनले एमसीसीको काम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्ने बताए । एमसीसी एसिया प्यासिफिकअन्तर्गत पर्दैन समेत भनेको बताउँदै महतले नेपालकै संविधानअन्तर्गत काम गर्नुपर्ने स्पष्ट पारे । नियोजित किसिमबाट भ्रम पैदा गरेर एउटा देशको सहयोगलाई नकार्ने मन परे सहयोग जे पनि स्विकार गर्नु नहुने महतको भनाई छ ।
महाधिवेशनपछि देउवा नै सभापति
सहमहामन्त्री महतले शेरबहादुर देउवाले महाधिवेशनमा जित्ने दाबी गरेका छन् । उनले देउवाको नेतृत्वमा पार्टीले जित्ने र आमनिर्वाचनमा पनि पार्टी बनाउने बताए । देउवाले पार्टीमा सबै साथीलाई जोडेर लैजाने र कसैको चित्त नदुखाउने स्पष्ट पारे ।

‘उहाँको नेतृत्वमा पार्टीले जित्छ । आमनिर्वाचनमा पनि पार्टीलाई जिताउनु हुन्छ ।’ उनले भने,‘शेरबहादुरजीको सबैभन्दा ठूलो खुबी भनेकै सबैलाई जोडेर लैजाने क्षमता हो । पार्टीमा सबै साथीलाई जोडेर लैजान खोज्नु हुन्छ । कुनै पनि निर्णयमा कसैको चित्त दुखाएर गर्नु हुन्न । नत्र एक्लै पनि अघि बढ्न सक्नु हुन्थ्यो। उहाँसँग बहुमत थियो । कार्यकर्ता सबैले यस पटक विश्वास गर्न जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७