पल शाहमाथि अनुसन्धान गर्न तनहुँमा पाँच दिनको म्याद थप, नवलपुरमा मुद्दा


४ चैत्र २०७८, शुक्रबार
pal saha

तनहुँ । एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाहलाई) जिल्ला अदालतबाट पुनः पाँच दिनको म्याद थप गरिएको छ ।

अनुसन्धान पूरा नभएको भन्दै तनहुँ प्रहरीले अदालतमार्फत पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । यस्तै, मतियारको भूमिका निर्वाह गरेको भन्दै गत शुक्रबार पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ । नाबालिगलाई जबरजस्ती करणीको आरोपमा शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएको पाँच दिनमा शाह प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानका लागि पहिलो चरणमा पाँच दिनको र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको थियो ।

यस्तै अभियुक्त शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पनि जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । सोही जाहेरीमा अनुसन्धानका लागि उनलाई गत फागुन २४ गते नवलपरासी लगेर गत शुक्रबार पुनः तनहुँ ल्याइएको हो । नाबालिग जबरजस्ती करणी अभियोगमा अनुसन्धानमा रहेका अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ । शाहविरुद्ध तनहुँ र गैंडाकोटमा जाहेरी दर्ता गर्ने किशोरी एउटै भएको प्रहरीको भनाइ छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको व्यवस्था दफा २१९ (२) दफाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएकै भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७