ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण गरिँदै


१ भाद्र २०७९, बुधबार
sadananda guthi

भोजपुर । भोजपुरको दिङ्लास्थित ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण थालिएको छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको स्थापना गरेका थिए ।

गुरुकुलसहित यहाँका धेरै संरचना जीर्ण बनेपछि संरक्षणको थालनी गरिएको छ । विस २०७२ को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्‍याएको छ । यहाँका छात्रावाससहितको तीन संरचनामध्ये दुई भत्किएका छन् भने एउटा जीर्ण अवस्थामा छ । जीर्ण बनेर भत्किएको एउटा भवन भने निर्माणको तयारी थालिएको षडानन्द सीताराम गुठीले जनाएको छ । प्रदेश नं १ सरकारले रु ३० लाख बजेट विनियोजन गरिदिएकाले एउटा संरचना निर्माणको काम अघि बढाउने तयारी रहेको गुठीले जनाएको छ ।

बालागुरु षडानन्दले शिक्षाको ज्योति छरेको स्थल भएकाले विकास तथा विस्तारका लागि कामको थालनी गरिएको हो । यहाँ प्रदेश सरकारको लगानीमा करिब रु साढे चार करोड लागतमा बहुउद्देश्यीय धर्मशाला निर्माण सम्पन्न भइसकेको छ ।

गुठी परिसरमा राम, सीताको मन्दिर रहेको छ । रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चार मन्दिर जीर्ण बन्दै गएका छन् । त्यस्तै बेद विद्याश्रम पढ्नका लागि भवनसमेत जीर्ण बन्दै गएको छ । सम्पूर्ण भवन माटोबाट बनेकाले जीर्ण अवस्था रहे पनि कामकाज भने त्यहीबाट हुँदै आएको छ । यी संरचनाको पनि संरक्षण गर्ने योजना रहेको गुठीले जनाएको छ । यहाँ रहेका २७ जना बटुकले (शिक्षार्थी) विभिन्न कर्मकाण्ड सिक्दै आएका छन् । यहाँ भागवत पुराण, चण्डीपाठलगायतको सिकाइ हुने गरेको छ । यसका अलवा अतिरिक्त विषयको रूपमा अहिले पनि संस्कृत समेत पठनपाठन हुने गरेको छ ।

आवश्यक संचरना नहुँदा उनीहरुलाई शिक्षा लिनसमेत समस्या हुँदै आएको छ । यहाँ पढाउने शिक्षकलाई महर्सी फाउण्डेशन काठमाडौँले तलबको व्यवस्था गरिरहेको छ भने गुठीका कर्मचारीलाई षडानन्द सीताराम गुठीबाट आएको आम्दानी र स्थानीयवासीले गरेको सहयोगले धान्दै आएको गुठीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

गुठीको नाममा रहेको जग्गाको पनि खोजी थालिएको छ । गुठीको नाममा एक हजार सात सय रोपनी जग्गा रहेको बुझिए पनि हालसम्म एक हजार दुई सय रोपनी जग्गा मात्र पत्ता लागेको अध्यक्ष पौडेलको भनाइ छ । त्यो जग्गामध्ये करिब दुई सय २० रोपनी जग्गा भने बाँझो रहेको उनको भनाइ छ । खेती भइरहेको जग्गाबाट वार्षिक दुई सय मुरीको हारहारीमा धान आउने गरेको छ । सरदरमा प्रतिमुरी रु दुई हजार एक सयमा बिक्री हुने गरेको पौडेलको भनाइ छ । अध्यक्ष पौडेलले भने, ‘अहिले हामी षडानन्द महाराजले निर्माण गरेका संरचनाको संरक्षण तथा विकासमा जुटेका छौँ । संरक्षण अभावमा कतिपय ऐतिहासिक धरोहर जीणर् बनेका छन् । विभिन्न निकायबाट सहयोग जुटाउने प्रयास भइरहेको छ ।’

गुठीको नाममा रहेको बाँकी जग्गा पनि खोज्ने काम भइरहेको छ । स्थानीय निकाय तथा सरकारी तवरबाट यसका लागि सहयोगको आशा रहेको उनको भनाइ छ । गुठीको प्रमुख संरक्षकको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

बजार क्षेत्रमा गुठीको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा परेको अध्यक्ष पौडेलको भनाइ छ । दिङ्ला बजार क्षेत्र र तुर्के बजार क्षेत्रमा स्थानीयले गुठीको जग्गा अतिक्रमण गरेका छन् । षडानन्द नगरपालिकासँग सहकार्य गरेर जग्गा फिर्ता ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।

गुठीको सीमित आम्दानी र दाताबाट सहयोग सङ्कलन गरेर काम गरिरहेकाले सोचेअनुरुप विकास हुन नसकेको देखिन्छ । गुठीबाट आएको आम्दानीले कर्मचारी र साना काम मात्र गर्न सकिएको पौडेलको भनाइ छ । अहिले पार्वती कुण्ड, हनुमान कुण्डको संरक्षण गरिएको छ । सीता कुण्डको पनि संरक्षण गर्ने लक्ष्य रहेको गुठीले जनाएको छ । चार रोपनी क्षेत्रमा रहेको भित्री बगैँचाको पनि संरक्षण थालिएको छ । त्यहाँ कागती, सुन्तला लगाउने काम भइरहेको छ । त्यस्तै षडानन्दले नै स्थापना गरेको बाहिरी बगैँचाको पनि संरक्षण गर्ने तयारी रहेको गुठीको भनाइ छ । यहाँका बगैंचामा एक सय आठ प्रजातिका बोटबिरुवा रहेको स्थानीयको भनाइ छ ।

यहाँ बालागुरु षडानन्दले नै साप्ताहिक हाट मेलाको सुरुआत गरेको जनाइएको छ । राम नवमीमा सतबिज मेला र चौमासा पुराण लाग्ने गरेको गुठीका अध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै तीज, ठूली एकादशीलगायतका अवसरमा भव्य मेला लाग्ने गरेको छ । यहाँ आएर दर्शन गरे सन्तान प्राप्ति हुने तथा बौद्धिक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहेको छ ।

तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसाम र भुटानलगायतबाट गुरुकूल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए । अहिले पनि दाङ, स्याङ्जा, काठमाडौँ, धरान, विराटनगरलगायत अधिकांश ठाउँबाट दर्शन गर्न मानिस आउने धार्मिक समितिका संयोजक हरि भित्रीकोटीले जानकारी दिए । यहाँको संरचनाको संरक्षण तथा विकास गर्दै षडानन्दको महिमा, उनका दिव्यज्ञान र यहाँको धार्मिक विषेशताका विषयमा जानकारी दिन सके पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ ।

‘यो स्थानको नेपालमा नै छुट्टै पहिचान छ’, संयोजक भित्रीकोटीले भने, ‘बालागुरु षडानन्दले शिक्षाको ज्योति फैलाएको पुण्यभूमि हो । यो षडानन्दको जन्मभूमि र क्रान्तियोद्धा योगमायाको कर्मभूमि हो । तर पनि यो स्थान ओझेलमा छ । यहाँको ऐतिहासिक धरोहरको संरक्षण गर्दै प्रचारप्रसार गर्न आवश्यक छ ।’

षडानन्दले शैक्षिक सुधारको काम, धार्मिक कार्य, पर्यावरण संरक्षण र कुरीति तथा दासप्रथाको अन्त्यका लागि गरेका चार काममध्ये समितिले धार्मिक संरक्षण तथा कुरीतिको अन्त्यका लागि मुख्यरूपले काम गरिरहेको संयोजक भित्रीकोटीले जानकारी दिए । सबै जातजातिलाई समेटेर सामूहिक धार्मिक कार्यक्रम समेत गर्दै आएको उनले जानकारी दिए ।

यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्दै विकासमा स्थानीय सरकारले भूमिका खेल्ने षडानन्द नगर प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । गुठीको नाममा रहेका सम्पूर्ण सम्पत्तिको खोजीका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनको भनाइ छ ।

‘यो हाम्रो नगरपालिकाको सबैभन्दा ठूलो सम्पत्ति हो’, उनले भने, ‘यसको विकासमा हाम्रो भूमिका रहन्छ । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै गुठीको नाममा रहेको जग्गा खोजीमा सहयोग गछौँ । गुठीको विधानअनुसार अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन नगरपालिकाले पनि भूमिका खेल्नेछ ।’ खाँदबारीबाट आउने पर्यटकलाई भने अरुण नदीमा पुल नहुँदा आवगमनमा समस्या हुने गरेको छ । पुल बनेमा यहाँ आउने पर्यटकको संख्या वृद्धि हुने स्थानीयको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७