श्रीलंकाली राष्ट्रपति समक्ष राजदूत मिश्रले बुझाए ओहोदाको प्रमाणपत्र


२ भाद्र २०७९, बिहीबार
basudev mishra NRCCkvEcQf

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले राष्ट्रपति रनील विक्रमासिंघे समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
कोलम्बोस्थित राष्ट्रपतिनिवासमा बुधबार आयोजित एक समारोहमा मिश्रले ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । प्रमाणपत्र बुझाउँदै राजदूत मिश्रले नेपाल र श्रीलंकाबीच रहिआएको सम्बन्धप्रति खुशी ब्यक्त गरेका थिए ।

‘आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन म प्रतिबद्ध छु’ उनले श्रीलंकाका राष्ट्रपतिसँग भने ।
त्यस अवसरमा राजदूत मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनताका तर्फबाट त्यहाँका राष्ट्रपति विक्रमासिंघे र जनताको सु—स्वास्थ्य, निरन्तर प्रगति र समृद्धिको शुभेच्छा सुनाएका थिए । नेपाली राजदूत मिश्रलाई स्वागत गर्दै राष्ट्रपति विक्रमासिंघेले नेपाली समकक्षी भण्डारी र नेपाली जनताको सुख र समृद्धिको कामना गरेका थिए ।


समारोहमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयुरएम अलि सब्रि, राष्ट्रपतिका सचिव इएमएस बि एकनायके तथा राष्ट्रपति कार्यालय र विदेशमन्त्रालयका उच्चपदस्थ अधिकारी उपस्थित थिए । राजदूत मिश्र हालै कार्यभार सम्हाल्न श्रीलंका पुगेका हुन् । तत्कालीन राजदूत डा. विश्वम्भर प्याकुरेलले कार्यकाल दुई वर्ष बाँकी रहँदाकै बखत २०७६ साल साउनमा पदबाट राजीनामा दिएपछि कोलम्बोस्थित दूतावास नियोग प्रमुखविहीन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७