दशैंमा बज्ने कालजयी १० गीत


१८ आश्विन २०७९, मंगलवार
Dashain famous song

कटारी । दशैं आउनु केही दिन अगाडिदेखि नं रेडियो-टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दशैँ गीतले झनै दशैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दशैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैँ गीत बज्ने गरे पनि दशैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ ।

विछोडको पिडा नसकी खप्न दशैंको बेलामा……………

दशैँसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दशैँ झल्काउने आलाप बजेपछि दशैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दशैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दशैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दशैँमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका…………..

दशैँ आउने वित्तिकै रेडियो÷टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।

दशैं नै हो कि यो मेरो दशा फर्किआएको…………….

यो गीत पनि दशैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दशैँको परिचय जस्तै बनेको छ ।

यसपाल दशैँमा ठूलो दाजु आउने रे…………..

कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट््युबमा राखेका छन् । कुल पोखरेललाई दशैँमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।

यो दशैंमा म घर आइन………….

नेपाली लोकदोहोरी गीतमा दशैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो गीत दशैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।

रातो टीका दशैंको जमरा………………

नेपाली चलचित्रमा पनि दशैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दशैंको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दशैँमा उत्तिकै बज्ने गर्दछ ।
दशैं आयो………….

नेपाली चलचित्र मुग्लानमा रहेको दशैँं आयो गीत पनि दशैँमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दशैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै……………

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दशैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दशैँ गीतको फरक स्वाद लिने गरेका छन् । दशैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ ।

थालैभरि रातो रातो अक्षता र पाती………….

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दशैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दशैं गीतमा रुचाइएको गीत हो ।

पर्देशबाट फरिया ल्याइदिउँला……………….

शिव थापा मगरको स्वर, शब्द, सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दशैँ गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दशैँमा धेरैले सुन्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७