देउवाको उम्मेद्वारीविरुद्ध उजुरी, नागरिकता र मतदाता नामावलीमा फरक उमेर


२४ आश्विन २०७९, सोमबार
Deuwa umerdwari

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्म मिति रहेको भन्दै उजुरी परेको हो ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् ।

sherbahadur deuba citizenship CBjsYARsJb

डडेल्धुरा कांग्रेसका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले भने, ‘उम्मेदवारको नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउछौं ।’

sherbahadur deuba vote 1 qIsd3O5Win

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहनु ठूलो समस्या नरहेको बताएका छन् । ‘मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो’, उनले भने, ‘सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।’

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेशसभा सदस्यतर्फ १४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७