अर्ग्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात : धमाधम ‘बुकिङ’

मुस्किलले कोदो फल्ने पाखा कफी खेतीले हरियाली, बार्षिक एक करोड रुपैंयाँ गाउँ भित्रिंदै


२५ आश्विन २०७९, मंगलवार
coffee
फाइल फोटो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा उत्पादित अर्ग्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती शुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका छन् ।

१५ बर्षदेखि जिल्लाका केही भागमा शुरु गरिएको कफी खेती अहिले ३२ गाउँमा विस्तार भइसकेको छ । जिल्लाका विकट गाउँमा उत्पादित अर्ग्यानिक कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग पाएपछि व्यवसाय लागतअनुसार मूल्य पाउन सकिएको किसान सुदर्शन बोलखे बताए ।

गत वर्ष १८ मेट्रिक टन पाचमेन्ट र पाँच मेट्रिक टन चेरीकफी जापान, कोरिया र जर्मनी निर्यात भएको जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । प्राङ्गारिक प्रमाणीकरण गरी पठाइएको कफी विदेशी बजारमा गुणस्तरीय ठहरिएपछि माग बढेको हो ।

अन्तर्राष्ट्रिय बजार र नेपालका ठूला सहरमा निर्यात हुन थालेपछि किसानले ६४ कफी उत्पादन समूह गठन गरिसकेको सङ्घका व्यवस्थापक मन्दु थापाले बताए । उनका अनुसार उत्पादित कफी जिल्ला कफी सहकारी सङ्घले संयोजन गरी विदेश निर्यात गर्दै आएको छ । किसानले वार्षिक रु एक करोडभन्दा बढी जिल्ला भित्र्याउँदै आएका छन् । कफीखेतीमा जिल्लाभरका दुई हजार एक सय ५० किसान आबद्व छन् । उत्पादित कफीको माग बढ्न थालेपछि उत्पादनस्थलमै प्रशोधन गर्न प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

विगत लामो समयदेखि कफीखेती गर्दै आएका मेलम्ची नगरपालिका– १० शिखरपुरका शङ्कर खनाल कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम भएका छन् । गाउँभरि कोदो र मकै रोप्ने बारीमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि खनालका छिमेकी अचम्मित भएका थिए । पछि कफी उत्पादन गरी बिक्री गर्न थालेपछि भने छिमेकीमा पनि कफी लगाउने रहर जाग्न थाल्यो । फलतः खनालका छिमेकीहरू पनि कफीखेती गर्न अग्रसर हुन थाले । गाउँलेले पनि कफी रोप्न मन लागेको बताएपछि आफूले नै बिरूवा उत्पादन गरेर उनले बताए ।

कफी खेतीमा प्रशस्त जानकारी हासिल गरिसकेका उनले शुरुमा काम गर्न कठिन भए पनि बिरूवाले उत्पादन दिन थालेपछि खुशी लागेर काम गर्न हौसला मिल्ने बताए । कफीका बिरूवामा रोग लाग्दा समेत सावधानीपूर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने खनालको अनुभव छ । उनले भने, ‘सकेसम्म रासायनिक विषादीभन्दा तितो, टर्राे, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मूल गर्नुपर्छ ।’

अहिले शिखरपुरका खनाल र उनका छिमेकी मात्र होइन, हेलम्बु गाउँपालिकाको महाँकालका रेतनाथ लामिछानेले पनि आफ्ना बाँझा पाखामा कफीका बोटले हरियो बनाएका छने । मुस्किलले कोदो फल्ने ती पाखामा कफी राम्रै उत्पादन हुने लामिछानेले बताए । बोटबाट टिपेर केजीको रु चार सयदेखि पाँच सय ५० सम्म कफी उद्योगमा पुर्‍याएर कफी बिक्री गर्दा पनि सामान्य बालीमा भन्दा फाइदा हुने उनको अनुभव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७