फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन


३१ आश्विन २०७९, सोमबार
Pokhara game 1
फाइल फोटो

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ ।

गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए । महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी हुन् ।

त्यस्तै अर्को खेलमा नेपाल आर्मी र गण्डकीले समान तीन÷तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो ।

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका हुन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण हात पारेका हुन् । पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जितेका हुन् । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गरे भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गरे । यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राईलाई पराजित गरी स्वर्ण हात पारे । ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत हात पारे । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जिते । थिङले रजत पदक पाए ।

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०–५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाउनुप¥यो ।

४५–५० केजी तौल समूहमा वागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितिन् भने ढुंगेलले रजत पदक हात पारिन् । पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सातवटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिस्पर्धा गराइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७