यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, कसले कति मत ल्याए ?


११ मंसिर २०७९, आईतवार
aadhkshya 650x413 1

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म सांसद निर्वाचित भएका छन् ।

यस पटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक जना बाहेक सबैले निर्वाचनमा जित हासिल गरेका छन् । यहाँ उम्मेदवार भएर जित हासिल गरेका पार्टी प्रमुखहरूबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् । सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौं पटक निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार थिए । अध्यक्ष ओलीले यस पटक पनि झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएका थिए । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई हराउँदै लामिछाने निर्वाचित बनेका हुन् ।

अध्यक्ष लामिछानेले लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । भने कांग्रेसका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउँदै ४० हजार ६ सय ४८ मतसहित अध्यक्ष लिङ्देन विजयी बनेका हुन् । सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बने ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएका थिए । कार्यालयले जनाएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि चुनाव जितेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै अध्यक्ष राउत निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी बनेकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १८ हजार ८९ मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७