सुदूरपश्चिममा माओवादी केन्द्रले छान्न सकेन संसदीय दलको नेता


१६ पुष २०७९, शनिबार
mao sudur

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छान्न आज (शनिबार) बसेको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरस् बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले जानकारी दिएका छन् । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामी आकांक्षी छन् ।

अक्कल रावल र मानबहादुर धामीले प्रदेश इञ्चार्ज समेत रहेका भट्टलाई समर्थन गरेका छन् । तर भाटले दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको रावलले जानकारी दिएका छन् । उनले भने, ‘सहमति करिब–करिब जुटिसकेको छ । सरल (ओमविक्रम भाट) जीले छलफलको लागि समय माग्नु भएको छ । त्यही भएर भोलि बैठक बस्ने गरी आजलाई टुङ्गिएको हो । निर्णय लेख्न मात्रै बाँकी हो ।’

भोलि (आइतबार) बस्ने बैठकले दलको नेता मात्रै छनोट गर्ने समेत बताइएको छ । बाँकी प्रमुख सचेतक, सचेतकलगायत जिम्मेवारी अर्को बैठकबाट टुङ्गिने जनाइएको छ । माओवादी स्थायी कमिटी सदस्य समेत रहेका भट्ट डडेल्धुरा प्रदेश सभा (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । भने, भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना उच्च छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएको हुँदा माओवादीमा दलको नेता बन्न नेताहरुबीच हानथाप बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७