कालीकोटका बाढीपीडितले पाएनन् राहत


७ माघ २०७९, शनिबार
kalikot badhi.jpg
फाइल फोटो

कालीकोट । कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ ।

जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ । बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘समितिले पटक पटक विवरण पठाउन ताकेता गर्दैआएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्’, उनले भने । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उनको आरोप छ ।

कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताए । ‘पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७