हामी संघीयताको विरोधमै छौं, राजतन्त्रबारे पार्टीको धारणा यथावत छ : मन्त्री पाण्डे

‘सिक्टा सिंचाई नेपालकै सबैभन्दा राम्रो गुणस्तरयुक्त काम भएको आयोजना हो’


११ माघ २०७९, बुधबार
bikram pandey

चितवन । शहरी विकासमन्त्री विक्रम पाण्डेले राष्ट्रिय प्रजातन्त्र पाटी सधैँ संघीयता र धर्मनिरपेक्षताको विरोधमा रहेको स्पष्ट पारेका छन् ।

आज (बुधबार) चितवनको भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले आफ्नो पाटीको सिद्धान्त अनुसार नै आफ्ना धारणा राख्ने बताए । राष्ट्रिय सभामा हिजो (मंगलबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूलाई संघीयताको विरोधमा नबोल्न चेतावनी दिएका थिए । तर, सरकारकै मन्त्री पाण्डेले संघीयताको विरोधमा अभिव्यक्ति दिएका हुन् ।

‘हामीले संघीयता स्वीकार गरेका छैनौं । राजतन्त्रको विषयमा कुरा उठाएका छौं । धर्मनिरपेक्षताका कुरालाई विरोध गरेका छौं । पाटीको त्यो धारणा यथावत छ,’ उनले भने । ‘जुन किसिमले सोचेका छौं त्यही हिसाबले अगाडि बढ्छौं । पार्टीको धारणा रोकिँदैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष समेत रहेका पाण्डेले अहिलेको संरचनामा रहेर आफ्नो धारणा राख्ने बताएका छन् । मन्त्री पाण्डेले आफू स्वार्थ बाझिने मन्त्रालयमा नरहेको दावी गरे ।

मैले यसअघि नै हरेक कम्पनीबाट राजीनामा दिएको अवस्था हो । राजनीतिक रुपमा समाजसेवामा होमिएको व्यक्ति हुँ ।’ उनले थपे, स्वार्थ बाझिने कुरा भनेको मेरो मन्त्रालयमा मेरो परिवारले गरेको कुनै पनि व्यवसायमा म मन्त्री भएपछि गरिने कामहरू भए स्वार्थ बाझिने हुन्छ । हरेक पटक स्वार्थ बाझिने मन्त्रालय पायो भनेर बोल्दै हुनुहुन्छ । मलाई आश्चर्य लागेको छ ।’

उनले पार्टी र पार्टी अध्यक्षले काम गर्न सक्ने विश्वासका साथ शहरी मन्त्रालय रोजेर दिएको बताएका छन् । शहरी विकास मन्त्रालयमा रहेर ७७ जिल्लामै देखिने गरी काम गर्ने उनले दावी गरे । उनले बाँकेमा सिक्टा सिँचाई आयोजनामा गुणस्तरयुक्त काम भएको जिकिर गरे । राजनीतिक स्वार्थका कारण मुद्दा लगाइएको भन्दै अहिले अदालतले समेत सफाइ दिएको बताए ।

‘म अहिले पनि भन्छु सिक्टा सिँचाई आयोजना नेपालकै सबैभन्दा राम्रो गुणस्तरयुक्त काम भएको आयोजना हो । कसैले भन्दिएको भरमा समाचार नलेख्नुहोस् । ७ मिटरमा माटो भत्किएको थियो । साढे दुई लाख रुपैयाँमा सम्पन्न भएर बाँकेका किसानहरूले चारबालीसम्म खेती गरिहनु भएको छ,’ उनले थपे, सिक्टा सिँचाई योजनाको मुद्दा एउटा राजनीतिक उद्देश्यका साथ लगाइएको थियो । अदालतले सफाइ दिएको छ। ’

कुनै पनि काम सरकारलाई हस्तान्तरण गरेको एक वर्षपछि मात्र निर्माण कम्पनीको जिम्मा हुने भन्दै पाण्डेले सिक्टा सिँचाई आयोजना हस्तान्तरण गरेको चार बर्ष पछाडि मुद्दा लगाइएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७