घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान


१३ माघ २०७९, शुक्रबार
grass kheti

दाङ । दाङ घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुन् । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पालेका छन् । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गरेका छन् । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उनी बताउँछन् ।

पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उनी बताउँछन् । हरियो हँुदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बिक्री गर्न पाइने उनको भनाइ छ । उनी भन्छन्, ‘गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।’ गत वर्ष रु एक लाखको वरसिम घाँस बेचेको उनले बताए ।

घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैँसी र आठवटा बाख्रा पालेका छन् । उनको मुख्य पेसा कृषि नै हो । उनले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाएका छन् । आफैले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए । उनी भन्छन्, ‘गत वर्ष रु ७० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ ।’ गँहु र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ ।

यसैगरी घोराही–७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गरेका छन् । वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पुर्‍याउँछ । उनले पनि गत वर्ष रु ९० हजारको घाँस बिक्री गरेका थिए ।

किसानले आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने गरेको भए पनि दाङका किसानले घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकहरुले व्यावसायिक रुपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–५, ६, ७ र १७ का किसान पछिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन् ।

धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ । वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो । यसलाई भुइँघाँस पनि भन्ने गरिन्छ । यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ । बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराही–६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् ।

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ । दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ को गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा घोराही–१७ को गैरागाउँका किसानहरुले वरसिम घाँस खेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् ।

उनका अनुसार जिल्लामा अहिले एक हजार दुई सय हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । गत वर्ष सङ्घले ३५ लाखको घाँस बिक्री गरेको थियो । यस वर्ष वरसिम घाँसको बीउ करिब ७० लाखको बिक्री हुने अनुमान गरिएको छ ।

घोराही–६ मा २०५६ सालदेखि नै व्यावसायिक रुपमा घाँस खेती सुरु भएको थियो । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घको कृषि सहकारी स्थापना भएको हो । प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले तीन सय ३९ किसानलाई दुई हजार तीन सय ४८ किलो वरसिम घाँस ५० प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखाप्रमुख खिमबहादुर बस्नेतले बताए ।

हिउँदे घाँस वरसिमलाई असोजदेखि मंसिरसम्म छरिसक्नु पर्छ । पुस, माघ र फागुन महिनामा काटेर गाईभँैसीलाई खुवाउन सजिलो हुन्छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, पाल्पा, बाँके, बर्दिया, प्यूठान, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, कास्की, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बिक्री हुने गरेको बताइएको छ ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । सङ्घले ग्रेडिङ गरेर प्रतिकिलो एक सय ६५ देखि दुई सय २० सम्ममा बिक्री गर्ने गरेको छ । वरसिम घाँसलाई घाँसको राजाका रुपमा पनि लिने गरिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्दछन् । जिल्लामा गाई, भैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरुले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिए । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भट्टले बताउनुभयो । घाँस खेती गरेका किसानले हरियो घाँस, फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गराउने उद्देश्यले अनुदानमा घाँसको बीउ वितरण गरेको लमही नगरपलिकाका प्रमुख जोगराज चौधरीले बताए । ‘स्थानीयस्तरमा उत्पादन भएको बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं’ उनले भने । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७