कांग्रेस दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत भयाे : स्वर्णिम वाग्ले

२०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उद्घोष


१६ चैत्र २०७९, बिहीबार
swarnim wagle

काठमाडौं । नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका स्वर्णिय वाग्लेले २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘विसं २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’ वाग्लेले कांग्रेसमा रहन सक्ने अवस्था नरहेको भन्दै कांग्रेसका ४ जनाहरुलाई मार्मिक सन्देश पठाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका तर्फबाट तनहुँ उपनिर्वाचनमा उम्मेदवार बनाउन प्रस्ताव गरेपछि उनले बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेलको मोबाइलमा सन्देश पठाएका हुन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेका धारणा–
वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७