सन्दीपविरुद्ध मुद्दाको फैसलाका लागि तोकियो पेसी


२० चैत्र २०७९, सोमबार
sandeep lamichhane 20190401072744

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम फैसलाका लागि बुधबारलाई पेसी तोकिएको छ ।

चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । त्यसपछि पुनः बुधबारका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा द्रुतमार्गबाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७